प्रदेश १ मा १३औं लघुकथा दिवस मनाइयो, तीन लघुकथा पुरस्कृत

विराटनगर । लघुकथा समाज नेपाल प्रदेश १ ले १३औं लघुकथा दिवसको अवसरमा एक कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रमको अवसरमा प्रदेश १ को लघुकथा प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कृत गरियो । यसरी पुरस्कृत हुनेहरुमा उदयपुरका नन्दलाल आचार्यको लघुकथा ‘छुटप्रसाद’ प्रथम, भोजपुरका म्यामराज राईको लघुकथा ‘सफलता’ द्धितीय र मोरङ बेलबारीका विश्व विश्रुतको लघुकथा ‘पेशा’ तृतीय भएको छ । उनीहरुलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

प्रतियोगितामा प्रदेश १ का एक सयबढी लघुकथा प्राप्त भएको थियो । प्राज्ञ विवश पोखरेल, तुलसीहरि कोइराला र छविरमण सिलवाल सदस्य रहेको छनौट समितिले तीन लघुकथा छनौट गरेको हो ।

यसैबीच सोही कार्यक्रमकाबीच लघुकथा समाज प्रदेश १ को कार्यालय उद्घाटन गरिएको छ । उक्त कार्यालय वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, साहित्यकार लक्ष्मणकुमार नेवटिया, लघुकथाकार मन्जुश्री गिरी र लघुकथा समाज प्रदेश १ की अध्यक्ष ममता मृदुलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सोही अवसरमा स्थलगत लघुकथा वाचन कार्यक्रम पनि गरियो । कार्यक्रममा सहभागी सबैले लघुकथाकार स्व. हेमलता उप्रेतीको लघुकथा संग्रह कमलको फूलको पनि परिचर्चा गर्दै लघुकथा वाचन गरिएको थियो । कार्यक्रममा लघुकथाकारहरू सीता रेग्मी, अनु विज्ञाती, अम्बिका खरेल उप्रेती , रमेन्द्र कोइराला, उमा सिजापती, विश्वविभुत विकास र पर्शुराम घिमिरेलगायतको सहभागीता थियो ।

बिहिबार, ०३ भदौ, २०७८, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर