कर्जा र ब्याजदरमा पनि सहुलियतको सहमति

विराटनगर । साना व्यवसायी र नयाँ लगानीकर्ता युवा व्यवसायीहरुलाई प्राथमिकतामा राखेर कर्जा लगानी गर्न ग्लोवल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच समझदारी भएको छ ।

बैंकको पहुँचमा नभएका साना व्यवसायी र अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर व्यवसायिक कर्जा प्रवाह गर्ने विषयमा समेत दुई संस्थाबीच समझदारी भएको हो ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल र बैंकका प्रदेश प्रमुख सुवाष सापकोटाले बैकिङ्ग सुविधाका विषयमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारीबाट साना व्यवसायीहरु, नवउद्यमी, कृषि व्यवसायमा संलग्न उद्यमीहरु, अपाङ्गता भएका उद्यमीहरु लाभान्वित हुने व्यवसायीहरुले बताएका छन् ।

समझदारीपछि बैंकले छिटोछरितो ढंगबाट कर्जा प्रवाह गर्ने, नेपाल राष्ट्र बैंकले प्रदान गर्ने विभित्र सहुलियतपूर्ण कर्जा, पुनरकर्जाहरु आदि बैंकले प्राथमिकताका साथ उपलब्ध गराउन सहयोग गर्ने, नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ मा आवद्ध व्यवसायिक फर्महरुले लिने कर्जामा ०.५० प्रतिशत प्रिमियम छुट पाउन सकिनेछ । यसरी ब्याज दर कायम गर्दा बैंकको आधार दरमा न्यूनतम १ प्रतिशत प्रिमियमथप गरी हुन आउने ब्याजदर कायम गरिने समझदारी पत्रमा उल्लेख छ ।

प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने सझदारी बनेको छ । यस्तै विदेशी विनिमय दरमा प्रतिअमेरिकी डलर १० पैसाको अतिरिक्त सटही सुविधा दिने, अमेरिकी डलरभन्दा अन्य परिवत्र्य विदेशी मुद्रामा सोही अनुपातमा विनियम दरमा सुविधा दिने समझदारी पनि भएको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य एवं प्रदेश महासंघका सल्लाहकार अविनाश बोहरा, उपाध्यक्ष भीम पौडेलेले समझदारीबाट व्यवसायीहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।

मङ्गलबार, ०१ भदौ, २०७८, बिहानको ११:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर