खाद्य उद्योगको बद्मासी : अखाद्य वस्तु मिसाउँदै बजार पठाउँदै

विराटनगर । नियमित सरकारी अनुगमनको अभाव र जसरी पनि नाफा मात्रै लिने लोभका कारण खाद्य उद्योगहरुले गर्ने बद्मासी बढ्दै गएको छ ।

शुद्ध र उपभोग्य वस्तु उपभोग गर्न पाउने उपभोक्ता अधिकारको खिल्ली उडाउँदै खाद्य उद्योगहरुले जथाभावी मिसावट गर्ने क्रम बढेको छ । खाद्य सामग्रीमा अखाद्य वस्तु मिसाएर बजार पठाउने क्रम उद्योगहरुमै बढेपछि उपभोक्ता स्वास्थ्य उच्च जोखिममा परेको छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरभित्रका उद्योगहरुविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लगातार गरिहेरहेको मुद्दा दर्ताको तथ्यांकले पनि खाद्य उद्योगहरुले गर्ने बद्मासी बढेको देखाउँछ । वितेको आर्थिक वर्षमा मात्रै करिडोरका २९ वटा उद्योगविरूद्ध मुद्दा दायर भएको छ । ती उद्योगका उत्पादन गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दर्ता गरेको हो ।

मोरङका ९ र सुनसरीका २० वटा उद्योगले उत्पादन गरेका खाद्यवस्तु गुणस्तरहीन भेटिएपछि मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ११६ वटा उद्योगको बजार अनुगमन गरि उत्पादन नमूना संकलन गरिएको जनाएको छ । जसमध्ये सुनसरीका २० र मोरङका ९ उद्योगको उत्पादन गुणस्तरहीन भएको ल्याब रिपोर्टदेखि पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।

खाद्यवस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि अदालत र लेबलसँग सम्बन्धित बस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग लैजाने गरेको छ । सुनसरी डिभिजनले सुनसरीको दुहबीमा रहेको बिस्कुट उत्पादन गर्ने क्वालिटी हाइड एण्ड फुड प्रोडक्ट्स, पिउने पानी उत्पादन गर्ने प्रकृति जल उद्योग, इटहरीमा रहेको मटर फ्राइ उत्पादन गर्ने बाबा फुड प्रोडक्ट, दिव्यश्री जल उद्योगको उत्पादन गुणस्तरहीन भेटिएछि मुद्दा दायर गरेको हो । खाद्य पद्धार्थ उत्पादन गर्ने खनाल फुड प्रोडक्ट्स, विस्कुट उत्पादन गर्ने पूर्वाञ्चल मिल्क एड फुड्स प्रालि, सोयाबिन तेल उत्पादन गर्ने पशुपति खाद्य तेल उद्योग, विस्कुट उत्पादन गर्ने क्वालिटी डाइट एड फुड प्रोडक्ट्स, रिजाल टाशी प्रालि, तोरी तेल उत्पादन गर्ने जे.के. आयल मिल, घ्यु उत्पादन गर्ने क्वालिटी फुड एड स्न्याक्स, मैदा उत्पादन गर्ने क्वालिटी फुड एण्ड स्नयाक्सको उत्पादनमा कैफियत भेटेपछि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैगरि भुजिया उत्पादन गर्ने मोरङको विराटनगर ११ मा रहेको रुमन फुड एण्ड वेभरेज उद्योग, ज्वानो उत्पादन गर्ने विराटनगर ९ को कपिश इन्टरप्राइजेज, केक र पाउरोटी उत्पादन गर्ने सुमन पाउरोटी उद्योग, कुखुराको दाना उत्पादन गर्ने अमुल्य फिड प्रालि विरुद्ध मुद्दा दायर भएको छ । यसैगरि घ्यु उत्पादन गर्ने बालाजी डेरी उद्योग, घ्यु उत्पादन गर्ने विराटनगर ४ को शिवम् डेरी उद्योग, विराट गोल्छा घ्यू प्याकेजिङ्ग र कुखुराको दाना उत्पादन गर्ने बुढीगंगा ७ मा रहेको एसियन फिड्स प्रालि विरूद्ध कैद र जरिवाना माग दाबी राखेर मुद्दा दायर गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

सुनसरी र मोरङमा उद्योगविरूद्ध दायर गरिएको मुद्दा अदालत र प्रशासनमा विचाराधीन रहेको कार्यालयले जनाएको छ । ठूला उद्योगबाट उत्पादित खाद्य पदार्थ गुणस्तर प्रतिकुल भएपनि त्यस उपर कारवाही प्रक्रिया तत्काल नहुँदा उपभोक्ताले भने गुणस्तरहीन वस्तु नै उपभोग गर्न बाध्य हुनु परेको छ ।

नाम चलेका र बजारमा ख्याती कमाइसकेका ब्राण्डेड खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठ्दासमेत त्यस्ता वस्तुको बिक्री वितरणमा तत्काल रोक लाग्ने गरेको छैन । कार्यालय प्रमुख रिजालका अनुसार कुनै खाद्य वस्तुको नमूनामा कैफियत देखिए त्यही ब्ंयाचको वस्तु उत्पादकले बजारबाट फिर्ता ल्याउनुपर्दछ । तर, त्यसका लागि दर्ता भएको मुद्दा फस्र्यौट भएर कैफियत प्रमाणित हुनुपर्दछ ।

गत आर्थिक वर्ष मोरङमा नमूना संकलन गरिएकामध्ये १०.३४ प्रतिशत वस्तुको गुणस्तरमा कैफियत फेला परेको थियो । त्यसमध्ये प्रशोधित पानीको १, दूध तथा दुग्ध पदार्थ २, खाद्यन्न, दलहन तथा सोबाट बनेका वस्तु ४, चिया कफी मसला १, दाना २, माछा मासुजन्य २ छन् ।

आइतबार, ३१ साउन, २०७८, बिहानको १०:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर