पाँचथर कुम्मायकमा हावाहुरीले मकै लडायो, किसान चिन्तित

विराटनगर । पाँचथर कुम्मायक गाउँपालिकामा पानीझरी सँगै आएको हावाले मकै बाली सोतर बनाएको छ ।

मकै बाली हावाले लडाएपछि किसानलाई जिविकोपार्जनमा कठिनाई हुने भएको छ। कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ र ५ को केही भागमा हावा हुरीले मकै ढालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए ।

४ दिन अगाडि परेको झरी र आएको हावाहुरीका कारण मकै ध्वस्त भएको र क्षतिको विवरण संकलन भइरहेको उनले बताए । त्यस क्षेत्रका किसानको अन्न बालीको रुपमा मकै एकमात्रै बालि हो । अन्य खेतीमा फलफूल र अदुआ रहेको अधिकारीको भनाइ छ ।

यसैबीच मकै बाली क्षति भएको विषयमा तत्काल क्षतिपूर्ति र राहतको माग गर्दै सो क्षेत्रका सांसद इन्द्रबहादुर आङ्बेले स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘यही बेला हो नागरिकलाई अभिभावक अर्थात् सरकारको साथ चाहिने, कुम्मायक–५ लगायत तमोर करिडोर क्षेत्रमा भएको यो विनाशको क्षतिपूर्ति र राहत सरकारले उपलब्ध गराइ किसानको घाउमा मल्हम लगाउन म संघीय सरकार प्रदेश सरकार र कुम्मायक गाउँपालिकासँग हार्दिक अनुरोध गर्दछु,’ सांसद आङ्बोले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

शनिबार, ३० साउन, २०७८, दिउँसोको ०२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर