विराटनगर । भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल (बिओपी) दरैयाले अवैध कपडा बरामद गरेको हो ।
बिओपी दरैयाका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको टोलीले भारतदेखि भन्सार छली गरेर ल्याएको करिब २ लाख मुल्य बरावरको कपडा विराटनगर १६ दैरैयादेखि बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरेको कपडा क्यारिङ्ग गर्नेले ल्याएको खुलेको छ । विराटनगर र पूर्वी सहर इटहरी, दुहबी, धरान, पथरीलगायतका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ्ग गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीसँग क्यारिङ्ग गर्नेले पिसको हिसावले कपडा गन्तब्यसम्म पु¥याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले भरिया प्रयोग गरि तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिए ।
सशस्त्र प्रहरीले बुधबार पक्राउ गरेको कपडा पनि क्यारिङ गर्नेको रहेको खुलेकोछ । तर, कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि सामान छोडेर फरार भएकोले नाम पत्ता लगाउन नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरेको कपडा बिओवी दरैयाले विराटनगर भन्सार कार्यालयमा बिहीबार बुझाएको छ ।
भारतको जोगवनीदेखि पूर्वको विभिन्न सहरमा क्यारिङ गरेर कपडा तस्करी गर्ने विराटनगरमा ठूलो टोली रहेको छ । उनीहरूले तस्करीको कपडा विराटनगरसम्म ल्याएपछि विभिन्न ट्रेड र सप्लायर्सको नाममा बिल बनाएर पूर्वी सहरदेखि काठमाण्डौंसम्म तस्करीको कपडा पु¥याउने गरेका छन् ।