विराटनगर । गत फागुन १४ गते मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिने औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक सरोज सुवेदी रंगेहात पक्राउ परे ।
उनले बन्द भएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा अख्तियारको इटहरी कार्यालयले गरेको स्ट्रिङ अपरेसनमा विराटनगर–३ दूध फारम अगाडिदेखि पक्राउ परेका थिए । कारबाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएको आरोप थियो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका थिए ।
उल्लेखित घटना प्रतिनिधिमुलक हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गरेको ९ वटा ‘स्ट्रिङ अप्रेसन’ मा २० जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा अख्तियार इटहरीले पाँच जिल्लामा ९ वटा स्ट्रिङ अप्रेसन गरेर २० जनालाई रंगेहात घुससहित पक्राउ गरेको हो । घुस रकमसहित रंगेहात पक्राउ पर्नेमा सहायक तहदेखि अधिकृत स्तरका सरकारी कर्मचारीहरू, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसम्म रहेका छन् ।
आर्थिक वर्षमा २० जना कर्मचारी रंगेहात पक्राउ परेकामध्ये ९ लाख ५६ हजार रुपैयाँ बरामद भएको थियो भने ५ लाख ५३ हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको आयोगको कार्यालयले जनाएको छ ।
आर्थिक वर्षमा सुनसरीमा ४ वटा स्ट्रिङ अपरेसनमा ७ जना, सप्तरीमा ३ वटा स्ट्रिङ अपरेसनमा ५ जना, उदयपुरमा एउटा स्ट्रिङ अपरेसन गरि ६ जना र मोरङ र इलाममा १÷१ वटा स्टिङ अपरेसन गरि १÷१ जनालाई रंगेहात घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी प्रमुख बावुराम खतिवडाले जानकारी दिए ।
‘स्टिङ अपरेसन’ बाहेक पनि आयोगले उजुरीको आधारमा पनि सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानमा पक्राउ गरी मुद्दा दायरको लागि केन्द्रीय कार्यालयमा पठाएको छ ।
अख्यितार इटहरीको कार्यालयमा आर्थिक वर्षमा १ हजार ३८ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये १ हजार ११ वटा फछ्र्यौट भएको कार्यालयले जनाएको छ । ३७ वटा उजुरी चालु आर्थिक वर्षको लागि सरेको कार्यालयले जनाएको छ । आर्थिक वर्षमा ४८.५८ प्रतिशत उजुरी फछ्र्यौट भएको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए । आर्थिक वर्षमा घुस रकमसहित पक्राउ पर्नेमा सहायक स्तरका १० जना, अधिकृत तहमा ५ जना र अन्य ५ जना छन् ।
अघिल्लो आर्थिक इटहरीस्थित अख्तियारको कार्यालयले २० वटा स्ट्रिङ अपरेसनमा २४ जना सरकारी कर्मचारी पक्राउ गरेको थियो । अख्यितार इटहरीले दिएको जानकारी अनुसार मोरङमा ८ वटा स्टिङ अपरेसनमा ९ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो । यस्तै सप्तरीमा ५ वटा स्टिङ अपरेसनमा ५ जना, सुनसरीमा ३ वटामा पाँच जना, भोजपुरमा २ वटामा २ जना, झापामा १ वटामा १ जना र ताप्लेजुङमा १ वटा स्ट्रिङ अपरेसनमा २ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा सहायकस्तरका १७ जना, अधिकृतस्तरका ४ जना सरकारी कर्मचारी, एक जना जनप्रतिनिधि र अन्य २ जनालाई रंगेहात घुस रकमसहित पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।
इटहरीस्थित आयोगले घुससहित पक्राउ गरेका र उजुरी परेकामाथि अनुसन्धान पुरा गरी केन्द्रीय कार्यालयमा पठाउने गरेको अख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले घुसखोरलाई रंगेहात पक्राउ गर्न सेवाग्राहीको भेषमा स्ट्रिङ अपरेसन गर्दै आएको छ ।