मारिया खोलामा पक्की पुल बनेन, बाँसको पुल तर्न १० रुपैयाँ तिर्दै जनता

विराटनगर । सुनसरीको हरिनगरा–२ स्थित मारिया खोलाको पक्की पुल निर्माणमा ढिलाई हुँदा सर्वसाधारण बाँसको अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

२०७४ सालको बाढीले सुनसरी खोला दुईधारमा परिणत भएपछि मारिया खोला उत्पत्ति भएको थियो । सोही बेला टेन्डरमा गएको उक्त खोलाको पुल हालसम्म नबन्दा सर्वसाधारण बाँसको अस्थायी पुलबाट आवागमन गर्न बाध्य भएका हुन् ।

पुल निर्माणमा वर्षौसम्म स्थानीय गाउँपालिका र प्रदेश सरकारको ध्यान नजाँदा स्थानीय युवाहरूको सक्रियतामा डेढ महिनाअघि सो खोलामा बाँसको अस्थायी पुल निर्माण गरिएको हो । तर, पुल तर्न प्रत्येक पटक पैसा तिर्नु परेपछि सर्वसाधारण आजित बनेका छन् । सर्वसाधारणले उक्त खोलाबाट ओहोरदोहोर गर्दा प्रत्येक पटक १० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको स्थानीय मौसिफ आलम अन्सारीले बताए ।

स्थानीय जसिम अन्सारीको नेतृत्वमा रहेका हरिनगरका ७ युवाहरुले कुल २ लाखको लागतमा मारिया खोलामा बाँसको पुल बनाएका हुन् । उक्त अस्थायी पुल पनि तीन–तीन दिनमा मर्मत गर्नुपर्ने भएकाले मोटरसाइकल चालकहरुसँग १० र साइकल चालकहरुसँग ५ रुपैयाँ लिनुपरेको स्थानीय जसिम अन्सारीले बताए । ‘स्थानीयले पटकपटक खोला वारपार गर्नुपर्ने भएका कारण उनीहरूसँग पैसा लिँदैनौं,’ उनले भने, ‘हरिनगरा बाहिरका यात्रुहरुसँग मात्र पैसा लिने गरेका छौं ।’

अघिल्लो पटक पुल निर्माणका लागि गाउँपालिकाले १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो । तर बाढीका कारण उक्त पुल बगेपछि युवाहरुले पुनः आफ्नै लगानीमा नयाँ पुल निर्माण गरेका हुन् । तर स्थायी पुल निर्माणको अभावमा स्थानीय सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य छन् ।

३ वर्षअघि संघीय सरकारको ६ करोड बजेटमा कार्की बन्धु कन्सट्रक्सनले उक्त खोलामा पुल निर्माणको ठेक्का पाएको थियो । तर, पछिल्लो समयको कोरोना महामारी र हाल आएर वर्षायामको कारणले पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीका साईड इन्चार्ज दिलीप कुमार कर्णले बताए । उनले हालसम्म आईपुग्दा पुल निर्माणको ७० प्रतिशत कार्यहरु सम्पन्न भईसकेको जानकारी दिए । ‘पुलको भौतिक प्रगति हेर्दा हालसम्म ७० प्रतिशत कार्यहरु सम्पन्न भईसकेका छन्,’ उनले भने, ‘वर्षायामका कारणले बाँकी ३० प्रतिशत कार्य सम्पन्न हुन सकेको छैन । सेट्रिङ उठाएर ढलाई गर्ने काम मात्र बाँकी छ ।’

मङ्गलबार, २६ साउन, २०७८, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर