प्रधानमन्त्री शेरबहादुर देउवाले पदबहाली गरेलगत्तै कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता दिने बताउँदै खोपमा जोड लगाउने उल्लेख गरेका थिए । पछिल्लो समयमा खोप आउने क्रम बढेको छ । तर, खोपको प्रभावकारी परिचालनमा सरकारी निकाय अझै सक्षम भएको देखिन्न । उपलब्ध खोप समयमै नागरिकमाझ पुर्याउने सवालमा सरकारी संयन्त्र चुस्त नभएसम्म खोप प्रभावी रुपमा सबै नागरिकमाझ पुर्याउन कठिन हुनेछ ।
विभिन्न तथ्यहरुले प्रमाणित गरेका छन्, खोप लगाउने कार्य तदारुकताका साथ हुन नसके यसले जीवन तथा जीविका दुवै खतरामा पार्ने स्पष्ट भइसकेको छ । यदि विद्यार्थीहरु माझ पनि यसबेलासम्म खोप पुर्याएको भए परीक्षा चलाउने कि नचलाउने भन्ने विवाद हुँदैनथ्यो । मुलुकको आर्थिक गतिविधि सहज हुन सक्थ्यो ।
अहिले नेपालको पर्यटन उद्योग धराशायी अवस्थामा छ । पर्यटनको पुनरुत्थानका लागि पनि खोपको कुनै विकल्प छैन । कोरोना कहरका कारण दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुनुको अर्को कुनै विकल्प छैन । विश्वका सरकारहरूले जति छिटो आफ्ना शतप्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सक्छन्, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुन्छ । त्यसैले नेपालले पनि आफ्ना शतप्रतिशत नागरिकलाई खोप लगाएर यसको प्रचार गर्न सके नेपालमा पर्यटक आगमन हुनसक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । पूर्ण मात्रामा खोप लगाएको सुनिश्चित गरेर नेपाल तथा नेपालका पर्यटकीय क्षेत्र सुरक्षित भएको सकारात्मक सन्देश विश्वमा प्रवाहित गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीहरूको आंकलन गलत होइन ।
कोरोना महामारीबाट जोगिन जसरी पर्याप्त सजगताको जरुरी छ , उसैगरी यसको मारबाट नागरिक सुरक्षित राख्न खोपको पूर्ण उपलब्धता अत्यावश्यक छ । खोपले धेरै हदसम्म संक्रमणको जोखिम घटाउने मात्रै होइन, जटिलताहरु पनि कम गर्ने अध्ययनहरुले देखाएको छ । त्यसैले अहिले संघीय, प्रदेश र स्थानीय सबै सरकारले खोप अभियानलाई प्रभावकारी तुल्याउन आफ्ना संयन्त्रहरु परिचालन गर्न आवश्यक छ । खोपलाई अनियमितता गर्ने माध्यम नबनाई राज्यको अनिवार्य दायित्व सम्झेर तीन वटै तहका सरकारले उच्च संवेदनशीलता प्रदर्शन गर्नुपर्छ । यसो गर्नुको विकल्प पनि छैन ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।