विराटनगर । गर्मी र वर्षायामको सुरुवातसँगै तराई भेगमा पछिल्लो समय सर्पदंशका बिरामीहरुको चाप बढेको छ ।
चिसो र सुख्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीयाममा जमिनको तापमान सहन नसकेर बाह्य सतहमा निस्कन थालेपछि सर्पदंंशका बिरामीहरुको चाप बढेको हो ।
सुनसरीको इटहरीस्थित पूूर्वी पृतना हेडक्वाटर परिसरमा नेपाली सेनाद्धारा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रको तथ्याङ्कले पनि यही देखाएको छ ।
इटहरी–४ स्थित नेपाली सेनाद्धारा सञ्चालित उक्त उपचार केन्द्रमा पछिल्लो ७ दिनमा मात्रै ४३ जना बिरामीहरुको उपचार भएको छ । अधिकांश बिरामीहरु मोरङ, सुनसरी, झापा र उदयपुरको रहेका उपचार केन्द्रले जनाएको छ ।
विशेषगरी वैशाखदेखि भदौ महिनासम्मको अवधिमा सर्पदंशका बिरामीहरुको चाप उच्च रहने गरेको उपचार केन्द्रका अध्यक्ष दिवस पोखरेलले बताए । उनले यस उपचार केन्द्रमा हालसम्म १४ हजारभन्दा बढी सर्पदंशका बिरामीहरुको सफल उपचार भईसकेको जानकारी दिए ।
इटहरीमा सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै विगतमा झैं बिरामी लिएर भौतारिनु पर्ने अवस्थाको समेत अन्त्य भएको बिरामीहरुले बताएका छन् । अस्पतालको उपचार पद्धति पनि नवीनतम प्रविधिमा आधारित रहेको उनीहरुको भनाई छ । सर्पदंशका बिरामी प्र्रेमप्रसाद रुपाखेती भन्छन, ‘पहिलो सर्पले टोकिहाल्यो भने बिरामीको ज्यान जोखिममा हालेर अस्पताल खोज्दै दिन बित्थ्यो । तर इटहरीमै सर्पदंश उपचार केन्द्र स्थापना भएपछि निकै सहज भएको छ ।’
सर्पले टोकेमा वाकवाकी लाग्ने, नाकमुख र दिशापिसाबबाट रगत बग्ने, आँखा धमिलो हुने र श्वासप्रश्वासमा समस्या हुने लगायतका लक्षणहरु देखा पर्दछन् । समयमै उचित उपचार गराउन सके सर्पदंशका कारण हुने मृत्युदर समेत न्युनीकरण गर्न सकिने उपचार केन्द्रले जनाएको छ ।