सुनसान भो राँके बजार

बिक्दैन सेतो नौनी घ्यू र रातो अकबरे खुर्सानी

पाँचथर । पोका पारिएका राता अकबरे खुर्सानी, सेतो नौनी घ्यू , काटेर टुक्रा पारिएको स्वादिलो छुर्पी, पत्ती चिया, सिजनसिजनका फलफुल तथा लेकमा पाइने आर्ग्यानिक हरियो तरकारी राँके बजारको एउटा परिचय हो ।

मेची राजमार्ग अन्तर पर्ने लेकाली क्षेत्र पाँचथर–इलाम सडक खण्डको संगम स्थल राँके बजार लेकाली कोसेलीका लागि परिचित छ । इलामको कन्याम तथा पाँचथरको फिदिमको यात्रामा आउने आगन्तुकले राँके बजारको कुनै न कुनै कोसेली किनेकै हुन्छ्न् । सडकक छेउछेउमा चिटिक्क परेका घरका अगाडि हरेकले स्थानीय लेकाली परिकारको ब्यापार गरेकै हुन्छ्न् ।

राजमार्गमा नियमितजसो कुद्ने सवारी साधनका चालकसँग यहाँका पसलेले सम्पर्क कायम गरेर व्यापार प्रवद्र्धनको प्रयास गरेकै हुन्छन् । जसका कारणले चालकले उनीहरुको पसल छेउमा गाडी रोकिदिन्छन् । आगन्तुकहरुले आवश्यक फलफूल तरकारी किन्छन् । तर, पछिल्लो समयमा कोरोना भाइरस र त्यसको नियन्त्रणका लागि हुने बन्दाबन्दी र निषेधाज्ञा जस्ता कार्यले राँकेका व्यवसायीहरु मारमा परेका छन् । गाउँबाट लेकाली परिकार मगाएर ब्यापार गरिरहेका यहाका व्यापारीहरु प्रयाप्त सवारी साधन नचल्दा निराश देखिन्छन् छन् ।

गाउँबाट सामान झिकाएर बिक्री गर्ने यस बजारका व्यवसायीहरुका लागि आजभोलिका दिन पट्यारलाग्दो छ । ‘दिनभरको साथी बाटोमात्र हो’, एकजना पसलेले भने । ‘केही मोटर त कुद्छन् तर यात्रु हुँदैनन् ।’ १२ महिनानै चिसो मौसम, हिउँ तथा तुसारो पर्ने क्षेत्र राँके बजार यतिखेर सुनसान छ। बिक्रीका लागी फिजाएर राखिएका सामानमा ढुसी लाग्न थालिसकेको छ । गाउँबाट ल्याएको सामान ल्याएर बिक्री नहुँदा किसान र बजारका पसले दुवै मारमा छन् ।

दैनिक १० हजारदेखि १५ हजारसम्म कारोबार गर्ने त्यहाँका साधारण पसले रिममाया तामाङ तामाङ भन्छिन ‘कोठा भाडामा लिएर थालेको पसलले पहिले त निकै राम्रो आम्दानी दिन्थ्यो तर कोरोना आएपछि त भाडा तिर्नै सकस परेको छ । तीन दिनमा मैले जम्मा ५ सय रुपैयाँको मात्र सामान बेचें । यस्तै अवस्था हो भने अब व्यवसाय छोड्नु पर्ने हुन्छ । बैसाख यता ५ हजार रुपैयाँको पनि व्यापार गरेको छैन ।’

कोरोनाको प्रकोप फैलिएपछि कतिपय व्यापारबाट विस्थापित भएर गाउँमा खेती किसानीमा फर्केको स्थानीय अर्पना लिम्बूले बताइन् । व्यापारमा पुरै मन्दी आएपछि व्यापार थालेकाहरु विस्थापित भएर पुरानै पेशामा फर्किएको उनले जानकारी दिइन् । यतिमात्र होइन ताप्लेजुङ बाट पाँचथर हुँदै राजधानीसम्म जाने तथा झापाबाट इलाम हुँदै पाँचथर–ताप्लेजुङ जाने यात्रुका लागि राँके उपयुक्त बासस्थान पनि हो । तर, अहिले यहाँका होटलहरु समेत कोरोना कहरको प्रत्यक्ष मारमा परेको देखिन्छ । बैंकबाट ऋण लिएर संचालन गरिएका होटल व्यवसायले बैंकको ब्याज तिर्नसम्म नसक्ने अवस्थामा पुर्याइदिएको छ । जसले यस क्षेत्रको व्यवसायिक वातावरणलाई नकारात्मक तर्फ धकेलेको छ ।

दिनमा २ हजार भन्दा धेरै मानिस र त्यसै अनुसारका गाडीघोडा यात्रा गर्ने राँके बजारमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन चल्छन् भने मानिसको आवतजावत पुरै घटेको छ । स्थानीय व्यापारी बसन्त लुइँटेल भन्छन् ‘यातायातका साधन चल्दा मात्र व्यापार हुने ठाउँ भएकोले अहिलेको जस्तो महामारीको बेलामा समस्या हुँदो रहेछ । व्यापारबाट मात्र गुजारा गर्नेहरु अहिले गुजारा चलाउनै नसक्ने अवस्थामा पुगेको हुँदा हामीलाई एउटा शिक्षा पनि मिलेको छ ।’

शनिबार, २३ साउन, २०७८, दिउँसोको १२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर