विराटनगरमा स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सुरु

विराटनगर । उद्योग संगठन मोरङले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र संचालनमा ल्याएको जनाएको छ ।

उद्योग र विश्वविद्यालयबीचको लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले अध्ययन केन्द्र संचालनमा आएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गरिने लक्ष्य राखिएको छ । उक्त अध्ययन केन्द्र सुरु गर्ने विषयमा आज उद्योग संगठन मोरङको आयोजनामा उद्योग र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक विज्ञहरुको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले अनुसन्धान केन्द्र सुरु गरिएको बताए । उनले विश्वविद्यालय र उद्योगबीचको प्राज्ञिक एवं व्यवसायिक सम्बन्ध स्थापित गरि अध्ययन अनुसन्धान एवं सिकाईको प्रकृयालाई अघि बढाउन पनि केन्द्रले भूमिका निर्वाह गर्ने बताए ।

संगठनका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको स्मृतीमा स्थापना गरिएको औद्योगिक अध्ययन केन्द्रले विश्वविद्यालयका युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्ने विश्वास लिइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोईरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुवै पक्षबीच भएको समझदारीले सहयोग पु¥याउने बताए । सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नया नवउद्यमशिलतालाई समानान्तर रुपमा प्रवद्र्धन गर्दै लैजानु पर्ने धारणा राख्दै उपकुलपति कोईरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले कार्य गर्ने वताए ।

अध्ययन अनुसन्धान केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डिन फयाकेल्टि अफ म्यानेजमेन्ट डा. विजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत वहस र पैरवी, उद्योगी र विश्वविद्यालयबीच अन्तरसम्वादको वातावरण तयार गर्न नयाँ आयाम थप्ने बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठीले स्व. महेन्द्र गोल्छाको योगदानको चर्चा गर्दै केन्द्रले युवा शोधार्थीहरुलाई औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान गर्न प्रोत्साहित गर्ने बताउदै केन्द्रले विविध विषयका विज्ञहरुको उत्पादन एवं अनुसन्धानका लागी मानव स्रोतको उपलब्धता सहज बनाई औद्योगिक क्षेत्रको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गरे ।

केन्द्रका सहसंयोजक एव संगठनका कार्यसमिति सदस्य ईन्द्र खत्री राजनले केन्द्रले आर्थिक क्षेत्र र अनुसन्धानको क्षेत्रलाई जोड्दै युवा पिडिलाई आर्थिक विषयहरुमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहित गर्ने जानकारी दिए । कार्यक्रममा केन्द्रको सदस्य एवं स्व. गोल्छाको छोरी युक्ति गोल्छाले आफ्ना पिताको स्मृतीलाई दीर्घकालीन आर्थिक योगदान गर्न मद्दत गर्ने गरी गरिएको यस कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको संयोजकमा प्राध्यापक डा. विजु थपलिया, सहसंयोजकमा ईन्द्र खत्री (राजन) सदस्यमा युक्ति गोल्छा, प्राध्यापक देवी भट्टराई, प्रशान्त कुमार लाल र सदस्य सचिवमा संगठनका महानिर्देशक चुडामणि भट्टराई रहेका छन् ।

बिहिबार, २१ साउन, २०७८, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर