विराटनगर । विराटनगरमा प्रदेश १ को पहिलो ठूलो आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश १ सरकारको समाजिक विकास मन्त्रालय मातहत पहिलो पटक विराटनगर महानगरपालिका २ शंकरपुरमा १५ शैयाको विस्तारित आयुर्वेदिक अस्पताल सञ्चालनमा आएको हो ।
अन्तरङ्ग र बहिरङ्ग दुवै विभागमा विरामीको आयुर्वेदिक चिकित्सा प्रणालीबाट जाँच उपचार गर्नेगरि विस्तारित अस्पताल सञ्चालनमा आएको अस्पतालका प्रमुख आयुर्वेदिक चिकित्सक नेत्रबहादुर बस्नेतले बताए ।
चिकित्सक बस्नेतका अनुसार सञ्चालनमा आएको विस्तारित सुविधा सम्पन्न आधुनिक आयुर्वेदिक अस्पतालले जनतामा आयुर्वेद उपचारप्रति विश्वास बढाउन सहयोग पुर्याउने छ । उनका अनुसार हाल शङ्करपुरमा तीनवटा घर भाडामा लिएर पञ्चकर्म र शल्यचिकित्साको उपचार सुरु गरिन थालेको छ ।
धमाधम भौतिक सामग्री र स्वास्थ्य उपकरणहरु जडान भइरहेको अस्पतालमा हाल ओपिडी सेवा सुरु भइसकेको र एक महिनाभित्रै विरामी भर्ना गरेर उपचार थालिने चिकित्सक बस्नेतले जानकारी गराए । हाल शल्यचिकित्सातर्फ धमाधम ल्याब, अपरेसन कक्ष, नर्सिङ स्टेशन र वेडहरु जडान गर्ने काम भइरहेको छ ।
विस्तारित आयुर्वेद अस्पतालमा पञ्चकर्म र शल्यचिकित्सा अन्र्तगत पर्ने सबै प्रकारका उपचार सेवा प्रदान गरिनेछ । अस्पतालमा प्रायः सबै प्रकारका विरामीहरुको आयुर्वेदिक पद्धतीबाट उपचार हुनेछ । सँगसँगै अस्पतालमा प्राकृतिक चिकित्सा र अक्युपन्चर सेवा पनि सुचारु हुनेछ । उपचार गराउन आउने विरामीहरुले २२ प्रकारका आयुर्वेदिक औषधी निःशुल्क पाउनेछन् । भर्ना भएर उपचार गराउनेहरुले पनि सरकारले तोकेको न्यून शुल्क मात्र तिर्नुपर्ने छ ।
हाल तीन जना विशेषज्ञ आयुर्वेदिक चिकित्सकसहित वैध र स्वाथ्यकर्मी तथा कर्मचारीहरुले सेवा प्रदान गर्नेछन् । विस्तारित अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि प्रदेश १ कै नमुना आयुर्वेदिक अस्पतालका रुपमा गनिने छ ।