लोड हुँदैछ...

मेनु

‘शक्तिपृथकीकरण र कांग्रेसको भविष्य’

‘शक्तिपृथकीकरण र कांग्रेसको भविष्य’

कुनै समय वीपीको समाजवादी चिन्तनलाई आदर्श मानेर अघि बढेको नेपाली कांग्रेस देशकै जेठो लोकतान्त्रिक शक्ति हो। तर लोकतन्त्रका मूल्य, मान्यता र आचरणको कसीमा घोट्ने हो भने कांग्रेस अहिले अव्यवस्थित हाटबजारमा सामान बेच्न भेला भएका व्यापारीहरूको भीडभन्दा फरक देखिँदैन।

जसरी व्यापारीहरूको ध्यान बजार व्यवस्थापनमा भन्दा आफ्नो कारोबार वृद्धिमा केन्द्रित हुन्छ, त्यसरी नै कांग्रेस नेतृत्वको ध्यान पनि पार्टीको लोकप्रियताभन्दा आफ्नै गुटको मजबुतीमा केन्द्रित भएको पाइन्छ। मान्छे हिँड्ने पेटीसमेत ओगटेर सडक नै मेरो हो भन्ने भान दिने व्यापारी र वर्तमानको कांग्रेस नेतृत्वबीच तात्विक भिन्नता देखिँदैन। राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादू को सर्वव्यापी जगमा वीपीले उभ्याएको पार्टी हो कांग्रेस। तर वर्तमानमा देखिएको दुरावस्थालाई हेर्दा कांग्रेस सुध्रिएर राष्ट्रनिर्माणको संवाहक बन्ला भन्ने सोच्नु दिवास्वप्न जस्तै देखिन्छ।

कुनैबेला हरेक कार्यकर्ताको मुखमा झुन्डिने नारा ‘नेपाली कांग्रेसका तीन महान, वीपी, केपी, गणेशमान’ले कांग्रेसको सामुहिक नेतृत्वप्रति भिन्नै आस्था अभिव्यक्त गर्दथ्यो। सामुहिक नेतृत्वको अनुकरणीय अभ्यासबाट विकसित पार्टी आज आएर चारतिर मुख फर्किएका टाउकाहरूको शरीर जस्तो देखिन्छ।

कांग्रेसभित्र विगतमा एउटै व्यक्ति पार्टी प्रमुख अनि सरकार प्रमुख दुबै हुन खोजेर गिरिजाप्रसादले दीर्घकालीन विग्रहको बिउ रोपेका थिए। जुन विषवृक्षले कालान्तरमा कांग्रेसलाई गुट, उपगुट र फुटको भुमरीमा पुर्‍यायो। विघटित नेकपाभित्र पनि ओलीले यही गल्ती गर्नाले फुटपछि पनि फेरि अर्को फुटको सँघारमा पुगेका छन्।

हाम्रो आजसम्मको अनुभवले के कुरा प्रमाणित गर्‍यो भने पार्टी र देश दुबै म एक्लै चलाउँछु भन्ने नेताले न त पार्टी जोगाउन सक्यो न देश बनाउन। २०४६ सालमा सन्तनेता कृष्णप्रसाद अन्तरिम सरकारको प्रधानमन्त्री रहँदा पार्टीको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हातमा थियो। इतिहासले त्यो एक वर्षमा देशलाई नयाँ संविधान मात्रै दिएन कांग्रेसलाई पूर्ण बहुमतको सरकारमा समेत पुर्‍यायो। यस्तै एमालेको नौ महिने शासनकालमा पनि पार्टी र सरकारको नेतृत्व फरकफरक हुँदा धेरै लोकप्रियता आर्जन गर्न सफल भयो। छोटो अवधिमा एमालेले त्यही बेला कमाएको लोकप्रियताको ब्याज कालान्तरसम्म पनि खान पाइरह्यो।

जुनजुन समयमा पार्टी र सरकार एउटै व्यक्तिको हातमा पर्‍यो त्यो सबै समय राष्ट्रिय राजनीति र विकासका दृष्टिले अन्धकारपूर्ण बन्न पुग्यो।
इतिहासबाट पाठ नसिक्ने राजनीतिज्ञले आफ्नो भविष्य त बिगार्छ नै समग्र पार्टी र राष्ट्रलाई नै भड्खालोमा पुर्‍याइदिन्छ।

अहिले नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको आसन्न निर्वाचनमा उमेदवारी दिने घोषणा सँगै इतिहासका गल्तीबाट सकारात्मक उर्जा प्राप्त गरेको उदाहरण प्रस्तुत गरेका छन्। उनको यो घोषणाको अन्तर्वस्तु प्रशंसायोग्य देखिएको छ। उनले एक कार्यकालभन्दा बढी सभापति नबन्ने अनि सभापति निर्वाचित भए पनि प्रधानमन्त्री नबन्ने सार्वजनिक प्रतिबद्धता प्रकट गरेका छन्।

नेतृत्वमा जो आएपनि डाक्टर कोइरालाको यो घोषणालाई अनुशरण गर्ने हो भने पार्टीले पनि नयाँ उर्जा र गति प्राप्त गर्ने अनि निर्वाचनले सरकार बनाउने अवसर दिए निर्बाध रूपमा सक्रिय सरकार बन्न जाने संभावना प्रबल रहेको देखिन्छ।

दुई व्यक्ति दुई पद हुनासाथ पार्टीभित्रका उपगुटहरू पनि या त यिनै दुई शक्तिभित्रै समाहित हुन्छन् या त लोप भएर जान्छन्। शक्ति सन्तुलनका दृष्टिले पनि सरकार र पार्टी एकअर्काप्रति पूर्ण जिम्मेवार हुन पुग्दछन्। राजनीति स्वार्थ नभएर सेवा हो। जब सेवामा स्वार्थ मिसिन्छ तब राजनीतिको अपराधीकरण शुरु हुन्छ। यसर्थ कांग्रेसको वर्तमान नेतृत्वले पनि शक्तिपृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै शक्तिको बाँडफाँडबाट पार्टी र देशको भलाइमा ध्यान दिन सकोस् भन्ने कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।