विराटनगर । औद्योगिक प्रदुषण न्यूनीकरणका निम्त्ति रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पछिल्लो समय वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिएको छ ।
पर्यावरणको रक्षाका लागि बोटविरुवा लगाउनुपर्ने बिषयलाई आत्मसात गर्दै क्लबले सार्वजनिक स्थल, शिक्षण संस्था र स्कुल तथा कलेजहरुमा वृक्षारोपणलाई तीव्रता दिएको हो । क्लबले पछिल्लो समय खाद्य, फलफुल तथा सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बिरुवाहरु सम्बन्धित व्यक्तिलाई वितरण गरि आरोपण गर्दै आएको छ । क्लबले हालसम्म बेल, अमला, अशोक र कृष्णचुरा लगायतका विभिन्न प्रजातिका ५ सय ३५ वटा बिरुवाहरु वितरण गरिसकेको छ ।
सोमबार मात्रै वन कार्यालयको सहयोगमा क्लबले विराटनगरको महेन्द्र रात्री मा. वि, आदर्श मा. वि, बालिका मा. वि र जहदाको जनता आधारभुुत विद्यालय तथा आफ्नो आङ्गिक संस्था रोटरी कम्युनिटी कर्प (आर.सि.सि) लाई कुल २ सय ५० वटा बिरुवा वितरण गरेको छ । सोमबार रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजलाई पनि वृक्षारोपणका लागि २५ वटा विरुवा वितरण गरिएको क्लबकी पे्रसिडेन्ट सञ्चिता जैनले बताईन् । उनीले औद्योगिक प्रदुषण न्युनीकरणमा वृक्षारोपण कार्यक्रम प्रभावकारी साबित हुने विश्वास व्यक्त गरिन ।
असार ३१ देखि क्लबले पर्यावरण रक्षार्थ वृक्षारोपण कार्यक्रमको अवधारणा अघि सारेको थियो । पहिलो चरणमा क्लबले आफ्नै सदस्यहरुबाट उक्त कार्यक्रमको सुरुवात गरेको थियो । सदस्यहरुले आ–आफ्नो उद्योग व्यावसाय परिसर र विराटनगरको हाटखोलास्थित परम विश्रान्ति स्थलमा कुल २ सय ८५ वटा विभिन्न प्रजातिका बिरुवाहरु रोपेका थिए । त्यसयता क्लबले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । वृक्षारोपण कार्यक्रमलाई सफल तुल्याउन रोटेरियन बेनी गोपाल मुण्डदाको बिशेष सहयोग रहेको क्लबकी सेक्रेटरी अनिता सारडाले बताईन् । सोमबार रोटरी भवनमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच क्लबले उहाँलाई सम्मान समेत गरेको छ ।
क्लबले भने बिरुवाको विकासको सुनिश्चितताको आधारमा मात्रै वृक्षारोपणका निम्त्ति बिरुवा वितरण गर्दै आएको जनाएको छ ।