सहायता कक्षले सेवा प्रवाहमा सहजता

विराटनगर । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहजीकरणका लागि सहायता कक्ष स्थापना भएसँगै उनीहरुले पाउने सेवा प्रवाहमा सहजता थपिएको छ ।

सहायता कक्ष सञ्चालनमा आएसँगै सेवाग्राहीहरु विगत लामो समयदेखिको विभिन्न समस्या र प्रक्रियागत जटिलताबाट मुक्त भएका छन् । उनीहरुले विगत जस्तो घण्टौं लाईनमा लागेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले असार १८ गतेदेखि न्यून सेवा शुल्क लिने गरि विराटनगरस्थित सो कार्यालयमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा सञ्चालित उक्त सहायता कक्षले कार्यालयबाट हुने सबै प्रकारको सेवाप्रवाहमा सहजीकरण गर्दै आएको छ ।

सेवाग्राहीहरुलाई छिटोछरितो र एकद्धार प्रणालीबाट सेवा उपलब्ध गराउने पक्षमा सहायता कक्षको जोड रहँदै आएको महासंघले जनाएको छ । हाल उक्त सहायता कक्षले उद्योग दर्ता तथा नवीकरण, नाम तथा ठाउँसारी, पुँजी घटाउने तथा बढाउने, प्रमाणपत्र प्रतिलिपि र नाम संशोधन तथा परिवर्तन लगायतका कार्यमा सहजीकरण गर्दै आएको सहायता कक्षकी कर्मचारी विनिता घिमिरेले बताईन । ‘बेलाबखत सरकारी कार्यालयको सेवा प्रवाहमाथि प्रश्न उठने गरेको छ । सरकारी निकायको सेवा प्रवाह झन्झटिलो हुने हामीले देख्दै र सुन्दै आएका छौं । हाम्रो महासंघले उक्त अवस्थाको अन्त्य गर्ने प्रयास गरेको हो,’ उनीले भनिन्, ‘सेवाग्राहीहरुले पाउने सेवालाई दुरुस्त बनाउनु नै हाम्रो उद्देश्य हो । तसर्थ, सहयोगीको रुपमा न्युन सेवा शुल्कमा घरेलु कार्यालयले गर्ने काम हामीले गर्दै आएका छौं ।’

मोरङ जिल्लामा सञ्चालित लघु घरेलु तथा साना उद्यमीहरुलाई उद्योग स्थापना तथा दर्ता, नविकरण र बजार तथा प्रविधि परामर्श उपलब्ध गराउने बिषयमा पनि सहायता कक्षले उद्यमीहरुलाई सहजीकरण गर्दै आएको छ । सहायता कक्षमा दुईजना कर्मचारी राखेर सञ्चालनमा रहेका तथा नरहेका उद्योगहरुको अवस्था तथा तथ्याङ्क संकलन र उद्योग सञ्चालनका क्रममा आईपर्ने समस्याहरुको समाधानमा समेत सहायता कक्षको महत्वपुर्ण भुमिका रहेको महासंघले जनाएको छ । जिल्लामा सञ्चालित उद्योगहरुको अवस्था बिश्लेषणको आधारमा सरकारलाई आवश्यक निति निर्माणमा समेत सहयोग पु¥याउन सहायता कक्षको स्थापना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले बताए । उनले महासंघबाट सञ्चालित उक्त सहायता कक्षले घरेलु तथा साना उद्योग कार्यालयको सहयोगीको रुपमा २ जना कर्मचारी बराबरको कार्य सम्पादन गर्दै आएको जानकारी दिए । ‘हामीले प्रयास मात्र गरेका हौं,’ उनले भने, ‘हाम्रो प्रयासले भबिष्यमा कार्यालयको सेवा प्रवाह पनि सुधार हुने र महासंंघप्रति उद्यमीहरुको विश्वसनीयता समेत बढेर जाने अपेक्षा गरेका छौं ।’

सहायता कक्षबाट भने जिल्लाभरिका कृषि, पर्यटन, उत्पादनमुलक तथा सेवामुलक लगायत सबै क्षेत्रका उद्यमीहरु लाभान्वित हुने महासंघले विश्वास लिएको छ ।

सोमबार, १८ साउन, २०७८, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर