बरौनीबाट पेट्रोल आयात ठप्प

बजारमा अभाव हुनसक्ने व्यवसायीको चिन्ता

विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटगनरले भारतको बरौनी पेट्रोल ल्याउन पूर्णरुपमा बन्द गरेको छ । असार १८ गतेदेखि भारतको पश्चिम बंगालबाट पेट्रोल ल्याउन थालेको निगमले यहाँको माग पुरा गर्न नसकेपछि फेरी बरौनीबाट हप्तामा २५ गाडी पेट्रोल ल्याउन थालेको थियो । यो सातादेखि भने निगमको विराटनगर कार्यालयले बरौनीको लागि कुनै पिडिओ जारी नगरेको ढुवानी व्यवसायीहरुले बताएका छन् ।

सिलिगुढीबाट एकदिनमा बढिमा १५ गाडी मात्र पेट्रोल ल्याउन सकिने तर यहाँको माग त्यो भन्दा बढी भएकोले माग पुरा गर्न निगमलाई कठिन हुने गरेको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष धु्रव सिग्देलले जानकारी दिएका छन् । दैनिकरुपमा माग भन्दा कम पेट्रोल आयात भइरहेकोले केही समयपछि प्रदेश १ मा पेट्रोलको अभाव हुन सक्ने भएकोले निगमले त्यस तर्फ ध्यान दिनु पर्ने अध्यक्ष सिग्देलले बताएका छन् ।

आयात कम हुँदा एकातिर निगमले माग पूर्ति गर्न नसक्ने र अर्को तर्फ ढुवानी व्यवसायीहरुले नियमित रुपमा काम नपाउने समस्या हुने चिन्ता उनीहरुलाई छ । बजारमा अभाव भएको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको असर ढुवानी व्यवसायमा पनि पर्ने भएकोले उनीहरुले चिन्ता गरेका हुन् ।

सिलिगुडीबाट इन्धन आयात गर्दा आवश्यक परिमाणमा ल्याउन नसक्ने समस्या बाहेक त्यहाँ गाडी पार्किङ गर्ने तथा सहजरुपमा जान आउन पनि अफ्ठ्यारो भएको भन्दै ढुवानी व्यवसायीहरुले सहजरुपमा आवश्यकता अनुसार आयात गर्न सक्ने प्रबन्ध मिलाउनु पर्ने बताएका छन् ।

अर्कोतर्फ सिलिगुडीको डिपोले बरौनी डिपोले गरेको क्यालिब्रेसनलाई मान्यता नदिएका कारण पनि व्यवसायीले हैरानी व्यहोर्नु परेको गुनासो गरेका छन् । सिलिगुडीमा चाप बढेका कारण एक दिनमा दुई वटा गाडी मात्र क्यालिब्रेसन हुँदा समस्या भएको अध्यक्ष सिग्देलले बताए । सिलिगुडी डिपोले भाइब्रेसन स्पेस दुई सय लीटर बनाउन पत्र काट्न थालेपछि व्यवसायीहरु समस्यामा परेका हुन् । सिलिगुढीले भनेअनुसार ट्यांङ्की काट्नु परेमा व्यवसायीले ९ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था आएकोले त्यस विषयमा निगमले सहजीकरण गरिदिनु पर्ने व्यवसायीहरुको माग गरेको अध्यक्ष सिग्देलले बताएका छन् ।

 

आइतबार, १७ साउन, २०७८, रातीको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर