विराटनगर । नियुक्त भएको चार महिना पछि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानाले राज्यमन्त्री कला घलेका लागि औपचारिक रुपमा अधिकार प्रत्यायोजन गरी कार्यजिम्मेवारी दिएका छन् । आइतबार मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरी राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन गरिएको थियो ।
लामो समय जिम्मेवारी विहीन बनाइएकी घलेले राज्यमन्त्री भएको चारमहिना पछि सहकारी सम्बन्धी सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्न सक्ने गरी जिम्मेवारी पाएकी हुन् ।
राज्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रीले अधिकार प्रत्यायोजन नगर्दा राज्यमन्त्री कामबिहीन झैं थिइन् । नीतिगत तहमा सहयोगी भूमिका बाहेक घलेले हेर्ने गरी मन्त्रालयले कुनै ठोस जिम्मेवारी दिएको थिएन । जसका कारण लामो समय उनी मन्त्रालयमा अनुपस्थित भएकी थिइन् । त्यसै बीचमा कोरोना संक्रमण भई अस्पताल भर्ना भएर उपचार गराउनु परेका कारण पनि केही समय मन्त्रालय उपस्थित भइनन् ।
एकातिर मन्त्रालयको दैनिक काम गर्नेगरी मन्त्रीले अधिकार प्रत्यायोजन गरी जिम्मेवारी नदिएको र अर्कोतर्फ अस्वस्थताका कारणले उनले मन्त्री बनेको पाँच महिना त्यतिकै बिताउनु परेको बताइएको छ ।
‘नयाँ आर्थिक वर्ष आरम्भ भएपछि नयाँ कार्यक्रमहरुमा समन्वय र निर्णय गर्ने अधिकारसहित मन्त्री ज्यूले राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन गर्नुभएको हो,’ मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले भने ‘यस अघि पनि उहाँले नीतिगत कामहरुमा समन्वय गर्दै आउनुभएको थियो तर, बिरामी भएका कारण केही समय काममा आउन सक्नुभएन ।’
सहकारीको सञ्जाल ठूलो रहेको र राज्यमन्त्री घलेको चहाना पनि सहकारीमै भएका कारण जिम्मेवारी दिइएको बताइएको छ । त्यस बाहेक नीतिगत विषयमा राज्यमन्त्री मार्फतबाटै प्रस्ताव बढाउने गरी जिम्मेवारी तोकिएको बताइएको छ ।
अधिकार प्रत्यायोजन गर्ने कार्यक्रमको तस्बिर मन्त्रालयका प्रवक्ता डा. उप्रेतीले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । ‘भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा माननीय मन्त्रीज्युको अध्यक्षतामा बसेको बैठकले माननीय मन्त्रीज्युबाट माननीय राज्यमन्त्रीज्युलाई अधिकार प्रत्यायोजन गरेको पत्रको हस्तान्तरण र चालु आ.व.का कार्यक्रमहरुको सुचना प्रकाशन गरेर कार्यक्रम कार्यान्वयनको सुरुवात गर्ने निर्णय गरियो,’ डा. उप्रेतीले गरेको पोष्टमा उल्लेख छ ।
मुख्यमन्त्री शेरधन राईले केही दिन भित्रै चालु आर्थिक वर्षको कार्यक्रमहरुका लागि सबै मन्त्रालयका मन्त्रीहरु र मन्त्रीले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गरेका छन् । त्यसै क्रममा मन्त्री राना मगरले आफ्नो अधिकार राज्यमन्त्रीमा प्रत्यायोजन गरेका हुन् । यस अघि लामो समयसम्म अधिकार प्रत्यायोजन नगरी काम बिहीन बनाएका कारण राज्यमन्त्री घले असन्तुष्ट बनेकी थिइन् ।