आर्थिक पत्रकारिता तालिम सकियो

विराटनगर । विराटनगरमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङ, आर्थिक पत्रकार समाज नेपाल, पत्रकार महासंघ प्रदेश १ र मोरङ शाखाद्धारा संंयुक्त रुपमा आयोजित कार्यक्रम आईतबार सम्पन्न भएको हो । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुलाई आर्थिक पत्रकारिता, यसले समेटने क्षेत्र, व्यावसायिक आचारसंहिता, आर्थिक विकास र उद्योग व्यावसायको विकासक्रम बारे अनुशिक्षण प्रदान गरिएको थियो ।

सोे अवसरमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले निजी क्षेत्र र पत्रकारबिचको सहकार्यलाई थप सशक्त बनाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले निजी क्षेत्रको परिमार्जित धारणालाई प्रभावकारी ढंगबाट पस्किन स्वयंमलाई अपडेट बनाईराख्नुपर्ने धारणा व्यक्त गरे । उनले उद्यमशीलताको विकासमा पत्रकार जगतकोे ठुुलो सहयोग रहेको जानकारी दिए ।

कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीम गौतम र निवर्तमान अध्यक्ष पुष्पराज आचार्र्यले तालिम दिएका थिए । तालिमको क्रममा बोल्दै सेजनका अध्यक्ष गौतमले पत्रकार र मिडिया हाउसका सम्पादकको सक्रियताका अभावमा तथ्य र तथ्यांकमा आधारित आर्थिक पत्रकारिता समाप्त हुँदै गएको जिकिर गरे । उनले समाचार र विज्ञापनबिचको असन्तुलनको अभावमा आर्थिक पत्रकारिता संकटमा पर्दै गएको औंल्याए । प्रदेश र जिल्लाहरुमा समेत आर्थिक पत्रकारितालाई बिटको रुपमा स्थापित गराउन नैतिक अनुशासन हुनुपर्ने बिषयमा उनले जोड दिए ।

२०४६ सालको परिवर्तनपछि आर्थिक पत्रकारिताको विकासक्रम सुरु भएपनि स्थानीय सञ्चारमाध्यमहरुको अग्रसरताको अभावमा हाल पनि आर्थिक पत्रकारिता संघीय राजधानीमै सिमित रहेको सेजनले जनाएको छ । समाचारजन्य सामाग्रीहरु व्यापारिक हितको माध्यम बन्न थालेपछि आर्थिक पत्रकारिताको अस्तित्व ओझेलमा पर्दै गएको सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्यले बताए । उनले विज्ञापनको आधारमा समाचार लेखनमा विभेद हुन थालेपछि आर्थिक पत्रकारिताको थप विकासमा चुनौती थपिएको जानकारी दिए । उनले यसको समाधानका लागी जवाफदेही पत्रकारिताको खाँचो रहेको जिकिर गरे । कार्यक्रममा भने विराटनगरलाई केन्द्र बनाएर आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका २० जना पत्रकारहरुले तालिम लिएका थिए ।

आइतबार, १७ साउन, २०७८, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर