विराटनगर । लुट्नेले जब अस्मिता लुटिसके, के लुट्न बाँकी छ र ?
लाग्यो इज्जतमाथि दाग अब हे धोएर के जान्छ र ?
गर्भैमा तुहिँदै छ जीवन कतै, जज्मिन्छ छोरी भनि
बच्चामै यसरी बलात्कृत हुँदा काँप्दै छ धर्ती पनि
महिला माथि भइरहेको हिंसालाई आधार मानेर कवि सुदेश सत्यालले वाचन गरेको यो छन्द कविताका हरफमाथि टिकटकमा हजारौंले लाइक र कमेन्ट गरेका छन् ।
तनहुँको देवघाट–५ घिनटारका युवा पुस्ताका कवि सुदेश सत्यालका छन्द कविताका हरफहरु चोटिला र गर्विला छन् । कैंयौं छन्द कविताका हरफहरु उनकै आवाजमा सुन्दा आङ जुरुङ्ग बनाउने, उनको कविता वाचन कला झनै सुन्दर र मोहित बनाउने खालका छन् ।
बारम्बार, अनेक अक्रमण ती चट्याङ् झै गड्कीए
चाहिन्नन् अणुअस्त्र क्यै पनि यहाँ आवाज नै पड्किए
सिंहदरबार अगाडि वाचन गरेको सुदेशको यो क्रान्ति शीर्षकको कविताका हरफ आफैंमा धेरै शक्तिशाली छन् । हिंसामा विश्वास गर्नेहरुलाई सन्देश दिँदै उनले आवाज नै बम बारुद वा अणु अस्त्र भन्दा शक्तिशाली हुने बताएका छन् । क्रान्ति शीर्षककै अर्को कविताको हरफ यस्तो छ ।
सिंगो यो इतिहासको गुणकता डाँडै कटाएपछि
मुर्दा ब्यूँझिनुपर्छ पर्छ युगले ढ्याङ्ग्रो ठटाएपछि
न्याय हराएको र राज्यले न्याय नदिएको तर्फ संकेत गर्दै उनले लेखेको कविताले नैराश्यता होइन आफैं अगाडि बढ्नसमेत प्रेरणा दिन्छ ।
फैलिन्छन् किन हातका गणहरु गोजी भरे ता पनि
माग्दै छन् बरदान भक्तजनले, द्यौता मरे ता पनि
उनको कविता न्याय हराएको देश शीर्षकमा लेखेको यो कविताको हरफ पनि झनै दमदार छ । जे गरेर भएपनि आफ्ना माग पुरा गराउन आन्दोलन गर्ने संस्कार बसेको तर्फ संकेत गर्दै उनले लेखेको यो छन्द कविताले यसरी व्यंग्य हानेको छ ।
हो आन्दोलन गर्नुपर्दछ यहाँ, पुत्लाहरुले पनि
लौ निर्माण गरे नि संगठन नै, भुत्लाहरुले पनि
सिंहदरबारमा बसेर केही पनि गर्न नसक्ने नेताहरुप्रति व्यंग्य कस्दै सुदेशले सिंहदरबारमा स्यालहरु बसेको कविताबाटै बताएका छन् ।
काला पातहरु बनेर हरिया, खोज्छन् यहाँ फैलिन
सिंहैको दरबार हो यदि भने ती स्याल बस्छन् किन ?
उनले क्रान्तिको सन्देश दिएका छन् । शान्तिको सन्देश पनि दिएका छन् । राज्यको निकायमा बसेकाहरुको गैर जिम्मेवार कदमहरुको विरुद्धमा कविता मार्फत नै आगो ओकलेका छन् । त्यति मात्रै होइन उनले आम मानिसको गैर जिम्मेवार चरित्रको विषयमा पनि कविता मार्फत नै व्यंग्य कसेका छन् । क्रान्ति, शान्ति, महिला हिंसा वा राष्ट्रवादका मात्रै होइन सुदेशले प्रेममय भावका छन्द कविता पनि मनग्ये लेखेका छन् । उनले लेखेका प्रेममय कविताका हरफहरु यस्ता छन् ।
बढ्यो खै भाउ मायाको, घटाए पो मजा हुन्छ
कसैको याद आई छट्पटाए पो मज्जा हुन्छ
………………..
फुक्न जान्यो भने प्रेमको बाँसुरी
काखमै आउँछिन् विश्वकी सुन्दरी
…….
तिम्रो यौवन चोर्न खोजिरहने छन् धेर आँखाहरु
उस्तै हुन् रसरङ्गका विषयमा विद्वान र डाँकाहरु