विराटनगर । कोरोनाविरुद्धको खोप बोकेर बुधबार राती ९ बजे आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई स्थानीयले लखेटेको घटनाले यतिबेला विराटनगर तरंगित छ ।
फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनको टोली, सुरक्षाकर्मी, कर्मचारी, जेष्ठ नागरिक, संचारकर्मी तथा अपाङ्गता भएकाहरु अहिले पनि खोपको प्रतिक्षामा छन् । तर, मेयर पराजुलीले आफ्ना नजिकका कार्यकर्ताको घरमा स्वयम् उपस्थित भएर खोपको बाक्सा लिएर पुगेको थाहा पाएपछि स्थानीयले उनलाई लखेटेका थिए । पराजुलीले खोपसहितको टोली लिएर विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति बिमल राज भण्डारीको घरमा पुगेका थिए ।
उक्त घटनाको विरोधमा बिहीबार दिनभरजसो विराटनगर महानगरपालिका स्थानीयले घेराउ गरे । ‘मेयर साप हाम्रो खोप खोई ?, खोप हाम्रो अधिकार, जनता खोपको वेटिङमा, मेयर साप खोपको सेटिङमा, मेयर सापले के दिन्छ ? नोट भएकालाई खोप दिन्छ, क्रियाशिल भएकालाई मात्र खोप दिन्छ, राहत, साहत केही छैन, के मेयर सापको दिमाग छैन ?, राति राति के हुन्छ ? खोपमा मेयर सापको सेटिङ हुन्छ ?, मेयर साप खोप खोई ?,’ माओवादी केन्द्र निकट युवा संगठन वाइसियलले आक्रामक नारा लगाए । सो अवसरमा वाइसिएल मोरङका अध्यक्ष आजम परबेजले गरिव जनताका लागि प्राथमिकता दिनुपर्ने स्थानीय सरकारले खोप लुकाएर आफ्ना आसेपासेहरुलाई वितरण गर्नु अपराध भएको बताए ।
कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक अधिकार भएको केही सर्वसाधारणले पनि महानगरपालिका सामुन्ने प्रदर्शन गरे । उनीहरुले मेयर पराजुलीको विभेदपूर्ण कार्यप्रति असन्तुष्टि जनाउँदै नैतिकताको आधारमा राजिनामाको माग समेत गरेका छन् ।
यसअघि पनि लुकाएर लगाइएको थियो खोप
यसअघि पनि विराटनगरस्थित सिटी सिनेमा हलमा सुटुक्क कोरोनाको खोप लगाउने प्रयास भएपछि सर्वसाधारणले थाहा पाएर हंगामा भएको थियो । गत जेठ १४ गते बिना सूचना र बिना जानकारी मानिसहरु भेला हुने र आवतजावत बाक्लो भएपछि सर्वसाधरण त्यहाँ पुगेका थिए ।
त्यसबेला कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । तर, झमझम पानी परिरहे पनि विराटनगर महानगरपालिका–२ तिनपैनी चोकमा रहेको सिटी सिनेमा हलआसपास एकपछि अर्को गर्दै निजी सवारीसाधनको लाम लाग्न थाल्यो । गाडी चढेर आउनेहरू सिनेमा हलअगाडि गाडी रोकेर धमाधम भित्र प्रवेश गरिरहेका थिए । कोही हतारहतार बाहिरिँदै थिए ।
निषेधाज्ञाका बेला एकाएक मान्छेको आउजाउ बढेपछि स्थानीयले सोधीखोजी गरे । त्यसपछि पत्ता लाग्यो, ‘हलभित्र सुटुक्क भेला गरेर उद्योगी–व्यवसायीलाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदै रहेछ ।’
उक्त योजना नगरपालिकाको, सामाजिक विकास मन्त्रालयको वा मुख्यमन्त्री कार्यालय कस्को थियो भन्ने यकिन नभएपनि सबैपक्ष उक्त घटनाबाट पन्छिन सफल भएका थिए । तर, यस पटक भने विराटनगर महानगरपालिकाका प्रमुख पराजुली जनताको कठघरामा परेका छन् । केही समय अडिएका र जनतासामू बसिरहेका हुन्थे भने प्रमुख पराजुलीलाई जनताले आक्रमण गर्ने सम्भावना थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे, लगत्तै पराजुली कांग्रेस नगर उपसभापति प्रविण जोसीको गाडी चढेर भागेका थिए । उनीसँगै कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि सहभागी थिए । भन्सार एजेन्टसमेत रहेका जोसीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । मेयर पराजुलीको खोप काण्ड बाहिरिएपछि उनकै पार्टीले उनीमाथि अख्तियारमा मुद्दा हाल्ने तयारी समेत गरिरहेको बुझिएको छ । उनीमाथि पार्टीले पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी रहेको स्रोतकोे दाबी छ ।
दुष्प्रचार गरियो : भीम पराजुली
यसैबीच खोप काण्ड छताछुल्ल भएपछि महानगरपालिकाका मेयर भीम पराजुलीले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले कोरोना विरुद्धको खोपका विषयलाई जोड्दै २०७८ साउन १३ गते बुधबार बेलुका भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि स्पष्ट पारेका छन् । ‘मलाई समेत जोडेर सामाजिक सन्जाल र विभिन्न संचारमाध्यममा फैलाइएको भ्रम र विभिन्न सञ्चार माध्यममा आएका टिकाटिप्पणी र समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रमुख पराजुलीले आफूमाथिको अनर्गल प्रचारको घटना पार्टीभित्रको अन्तरविरोध रहेकोतर्फ संकेत गरेका छन् र उनले आफू घटनास्थलमा नरहेको पनि स्पष्ट पारेका छन् । ‘घटनास्थलमा म उपस्थित नभएको अवस्थामा मलाई जोडेर नगरबासीहरुलाई भ्रम छर्ने काम नगर्न म यसै विज्ञप्ति मार्फत आग्रह गर्न चाहन्छु ।’
सामाजिक संजाल फेसबुकमा त मेयर भीम पराजुलीप्रति आम मानिसले टिप्पणी गर्दै गालीगलौज गरिरहेका छन् । मेयर भीम पराजुलीको यो कार्यले उनको साख गिरेको छ । यति मात्रै होइन खोप काण्डमा आफ्नो संलग्नता अस्वीकार गर्दै पराजुलीले विज्ञप्तिमार्फत आफ्नो कमजोरी ढाकछोप गर्न खोजेका छन् । विज्ञप्तिमा खोप लगाइएको विषयलाई मौन रहँदै अनाधिकृत तबरले खोप किन लगाइयो भन्ने कुराको स्पष्ट जवाफ भने दिन सकेका छैनन् । त्यति मात्रै होइन अनाधिकृत र अख्तियार दुरुपयोग गरी खोपको दुरुपयोग गर्नेहरुमाथि नगरपालिकाले छानविन गर्ने प्रतिबद्धता पनि मेयर पराजुलीबाट सार्वजनिक भएको छैन ।