विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोले भारतको बरौनीबाट इन्धन आयात कटौती गरेको छ । बरौनीबाट ल्याउनु भन्दा पश्चिम बंगालको सिलिगुढीबाट ढुवानी गर्दा दुरी छोटो हुने र त्यसबाट निगमको ढुवानी खर्च जोगिने भएकोले निगमले भारतको सिलिगुढीबाट डिजेल, पेट्रोल र मटितेलको आयात गर्न थालेको हो ।
बरौनीबाट दैनिक २५ गाडी डिजल र १० देखि १५ गाडी पेट्रोल ल्याउने गरेकोमा असार १८ गतेदेखि बरौनीबाट आयात बन्द गरी सिलिगुढीका लागि मात्र पिडिओ जारी गर्न थालिएको थियो । भारतको सिलिगुढीबाट आयात गर्न अरु समस्या नभएपनि बरौनीको भन्दा कम ट्यांकर लोड हुने भएकोले ढिलो पालो पर्ने समस्या ढुवानी व्यवसायीहरुलाई परेको छ ।
त्यसबाहेक सिलिगुढीमा ट्यांकर पार्किङको प्रयाप्त सुविधा नहुँदा काकडभिट्टामै पार्किङ गरेर राख्नु पर्ने र आवश्यकता अनुसार इन्धन आयात नहुँदा निगमलाई पनि माग र आपूर्तिको सन्तुलन मिलाउन गाह्रो परेको व्यवसायीहरुको गुनासो छ ।
अहिले सिलिगुढीबाट दैनिक सरदर १५ ट्यांकर डिजेल आइरहेको र त्यसले बजारको दैनिक माग धान्न गाह्रो परेको ढुवानी व्यवसायीहरुले बताएका छन् । अर्कोतर्फ सिलिगुढीस्थित भारतीय आयल कर्पोरेशनले बरौनीले गरेको क्यालिब्रेसन परीक्षणलाई नमान्दा समस्या आएको भएपनि निगमले समन्वय गरिदिएका कारण आन्तरिक चेकजाँचका आधारमा अहिलेसम्म लोड दिइरहेको ढुवानी व्यवसायी धु्रब सिग्देलले जानकारी दिए । सिलिगुढीले एड्भाइस् जारी गरेको टेलिफोन नआउन्जेल काकडभिट्टामै गाडी राख्नु पर्ने समस्या ढुवानी व्यवसायीहरुले झेल्नु परेको बताए । त्यस बाहेक सिलिगुढी स्थित आइओसीले कतिपय ट्यांकरहरुको हुड निकाल्न लगाएकोले विभिन्न झन्झट आइपरेको गुनासो व्यवसायीहरुले गरेको छ । छोटो दुरी र ढिलो पालो आउने हुँदा ढुवानी व्यवसायीहरुले आफूहरुलाई नोक्सानी परेको गुनासो पनि निगम समक्ष गरेका छन् ।
निगमले भने यसलाई खर्च कटौतीको रुपमा लिएको छ । नजिकैबाट ढुवानी गर्दा वार्षिक रुपमा करोडौं रुपैयाँ खर्च कटौती हुने भएकोले सकेसम्म सिलिगुढीबाटै ढुवानी गर्ने पक्षमा निगम देखिएको छ । बरौनीबाट भन्दा सिलिगुढीबाट आयात गर्दा झण्डै ५ सय किलोमिटर दुरी छोटो हुन्छ । अर्कोतर्फ सिलिगुढीबाट इन्धन आयात गर्दा बीच बाटोमा ट्यांकर चालकहरुले गर्ने बदमासी र चोरी जस्ता समस्या पनि कम हुने भएकोले निगमले सिलिगुढीबाट ढुवानी गर्ने विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।
नजिकको दुरीबाट ढुवानी गर्दा फाइदा भएपनि आवश्यकता अनुसार इन्धन आयात नहुँदा बजारमा अभाव सिर्जना हुनसक्ने तर्फ सचेत हुँदै निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयले यसै साताबाट हप्तामा २० देखि २५ गाडी इन्धन बरौनीबाट ल्याउन थालेको छ । ढुवानी व्यवसायीहरुको आग्रह र निगमको आपूर्ति व्यवस्थापन मिलाउने क्रममा बरौनीका लागि हप्तामा एक दिन बढीमा २५ वटा गाडीलाई पीडिओ जारी गर्ने सहमति भएको ढुवानी व्यवसायीहरुले बताएका छन् । यसले बजारमा अभाव हुनबाट जोगाउने उनीहरुको भनाइ छ ।