विराटनगर । मोरङ व्यापार संघले ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेर विद्युत समस्या समाधानका लागि आग्रह गरेको छ ।
बिहीबार काठमाडौंमा संघका अध्यक्ष प्रकाश मुन्दडा नेतृत्वको टोलीले ऊर्जामन्त्री पम्फा भुसाल, सचिव सचिव देवेन्द्र कार्कीसँग भेट गरेर कटहरी गाउँपालिकालगायत मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले विद्युत आपूर्तिमा भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराएको थियो ।
भेटका क्रममा अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहितआसपासका क्षेत्रहरुमा ३३ केभिएलाईन जडान रहे पनि हाल विद्युत आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित भएकाले समस्या भएको बताएका थिए । वर्षायाममा मर्मत सम्हारका कार्यहरु समेत सुस्त हुँदा अवस्था जर्जर हुँदै गएको र ती समस्याहरुका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह«ास आई अर्बौँको निर्यात प्रभावित भएको बताएका थिए ।
टोलीले विद्युत महसुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण उद्योगहरुको लागत खर्च बढेको र त्यसको भार उपभोक्तावर्गलाई समेत परिरहेको अवगत गराएको थियो । मन्त्री भुसालले समस्या समाधानमा लाग्ने वचन दिएकी थिइन् ।
संघको टोलीमा पूर्व अध्यक्ष महेशकुमार जाजु, निर्वतमान अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष नविन रिजाल पनि सहभागी थिए ।