यसरी छलियो मिलेमतोमा १८ लाख राजस्व, भन्सार प्रमुखविरुद्ध अख्तियारमा उजुरी

विराटनगर । राजस्व छली एवं तस्करीमा विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिबीचको मिलेमतोले राज्यको लाखौं रुपैयाँ राजस्व छली हुने गरेको ‘सेटिङ’ बाहिर आएको छ ।

उनीहरुको मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छलेको पुष्टि भएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले गरेको पछिल्लो एउटा घटनाको अनुसन्धानबाट यस्तो देखिएको हो ।

गएको आइतबार राति १० बजे कपडा र विभिन्न सामान बोकेका दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर कार्यालयले अनुसन्धान गरेको थियो । राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काको नेतृत्वमा आएको टोलीले आइतबार राति विराटनगरबाट ती ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । विभिन्न सामग्री बोकेको को २ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो ।

प्रराम्भिक चरणको अनुसन्धानमा भन्सार एजेन्ट प्रतिनिधि अकबर अलीले आयात गरेको दुई ट्रक्याक्टर सामानमा १४ लाख मूल्य बराबरको कम मुल्यांकन गरिएको र २ लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार जाँचपास नै नगरी ल्याइएको भेटिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काले जानकारी दिए । ‘आयात गरिएको मालवस्तुको मूल्यांकन कम गरिएको पाइयो भने न्यून बिल बिजक बनाएर सामान भित्र्याएको पाइएको छ,’ उनले भने ।

भन्सार सम्बन्धी ऐनमा ५० लाखभन्दा बढी रकम बिगो भए राजस्व अनुसन्धानले अदालतमा अभियोग दर्ता गर्दै आएको छ । तर, भन्सार एजेन्ट प्रतिनिधि अकबरको हकमा ५० लाखभन्दा कम भएकोले राजस्वले १८ लाख रुपैयाँ धरौटी खुलाएको छ । ‘अनुसन्धान पूरा गरेपछि राजस्व छली गरेको मूल्यांकन कायम गरि कार्यालयले १८ लाख रुपैयाँ माग दाबी गरिएको छ,’ राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खड्काले भने, ‘तोकिएको रकम बुझाएर बरामद गरिएको सामग्री र नियन्त्रणमा लिएको ट्रयाक्टर लैजानुपर्ने हुन्छ ।’

राजस्वले नियन्त्रणमा लिएको ट्रयाक्टरमा टिसर्ट, धागो, पर्स, मेसिनरी र हार्डवयेरका सामग्री थिए । राजस्वले नियन्त्रणमा लिएको सामग्रीको भिसिटिएस पनि नगरी पठाएको पाइएको थियो । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्टी नै भन्सार जाँचपास हुने गरेको पाइएको छ ।

‘ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न भिसिटिएस लागू भएको हो,’ राजस्व अनुसन्धानका प्रमुख खड्काले भने, ‘तर, भन्सार हुदै निस्किएर हामीले बरामद गरेको सामानको भिसिटिएस पनि गरेको भेटिएन ।’ भन्सार बिन्दुमा न्यून मूल्यांकनमा जाँचपास गरिएको कपडा, मिलमेशिनरी पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भिसिटीएसमा नभेटिएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति प्रश्न उब्जिएको उनले बताए ।

सामानमा प्रतिइकाई मूल्य अंकित स्टिकर स्पष्ट भए पनि भन्सार कार्यालयले १ सय रुपैयाँको मूल्यांकनमा मात्रै कपडा छोडेको पाइएको छ । भारतीय कम्पनीका कपडामा ३७९, ४५० र ५९९ रुपैयाँ मूल्य अंकित स्टिकर टाँसिए पनि एक सय मात्रै मूल्यांकन गरिएको पाइएको छ । राजस्वले नियन्त्रणमा लिएको दुई ट्रयाक्टरको कपडा र मेसिनरी उपकरणको सामग्री एजेन्ट प्रतिनिधि विराटनगरका अकबर अलीको हो । उनी भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि हुन् ।

भन्सारमा सेटिङ्ग मिलाउन माहिर अललिे भन्सार प्रमुख, अधिकृतदेखि सबै क्षेत्रका अधिकारीहरुलाई नजराना थमाएर रिझाउने गरेका छन् । यसरी उनले दैनिक ठूलो परिमाणका सामान न्यून बिजकीकरण गरेर तथा भन्सार छलिएका सामान नक्कली प्रज्ञापनपत्रको भरमा पूर्वको विभिन्न सहर हुँदै काठमाडौसम्म पुरयाउने गरेको स्रोतको भनाइ छ । एजेन्ट प्रतिनिधि अलीको ‘अली टे«डर्स’ रहेको छ । उक्त टे«डर्सको नामबाट राजस्व छली गरेको सामग्रीहरू काठमाडौका व्यापारी नसिम खानलाई पठाउने गरेको स्रोतको दाबी छ ।

यसरी १८ लाख रूपैयाँ राजस्व चुहावट भएको खुलेपछि विराटनगर भन्सार प्रमुख शिवहरि भण्डारी विवादमा मुछिएका छन् । राजस्व छलीको विषयमा बुझ्न खोज्दा भन्सार प्रमुख भण्डारी सम्पर्कमा आउनै चाहेनन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले प्रक्रिया पूरा गरेर दुई वटा ट्याक्टर छोडेकोले अहिलेसम्म कुनै जानकारी नपाएको बताए । ‘लिखित रूपमा राजस्वले भन्सार छली गरेको पत्र पठाए भन्सारले त्यसपछि थप प्रक्रिया अगाडि बढाउनेछ । अहिले हामीलाई त्यस्तो कुनै जानकारी आएको छैन,’ उनले भने ।

यसअघि पनि एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्र्याउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको पनि फेला परेको थियो । तीन महिना अगाडि विराटनगर महानगरपालिका– १२ रोडशेष चोकबाट प्रहरीले वैशाख ११ गते साँझ ६ः३० बजेतिर एउटा भारतीय नम्बर प्लेटको ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर ‘फुड सप्लिमेन्ट’का सामग्री लोड गरेर गन्तव्यतिर लाग्दै थियो । राजस्व छलीको सामग्री लिएर गन्तव्यतिर हिँडेको सूचनाका आधारमा चालक भारतीय नागरिक विनोद यादवसहित ट्रयाक्टरलाई मोरङ प्रहरीले नियन्त्रणमा लियो । सोही दिन साँझ ७ बजेतिर विराटनगर–१६ रानीबाट प्रहरीले अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लियो । हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यवसायिक फार्मको सामग्रीले भरिएको ट्रयाक्टरसहित चालक भारतीय नागरिक पप्पु यादव पक्राउ परे । हवनमा प्रयोग हुने सामग्रीका नाममा अरु नै वस्तु र प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा बढी सामान आयात गरिएको सूचना प्रहरीमा थियो । एकै दिन फरक–फरक स्थान र समयमा नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई प्रहरीले कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । राजस्वले अनुसन्धान थाल्दा प्रज्ञापन–पत्रमा उल्लेख भएको भन्दा बढी परिणामको सामान र अरु नै सामग्री राखेर ल्याइएको पुष्टि भएको थियो ।

भन्सार प्रमुखविरुद्ध अख्तियारमा उजुरी

विराटनगर भन्सार कार्यालयका प्रमुख शिवहरि भण्डारीसहित तीन जना कर्मचारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भन्सार प्रमुखसहित कर्मचारीहरूको मिलेमतोमा संस्थागत रुपमा राज्यको लाखौं रुपैयाँ छली हुने गरेको भन्दै अख्यितयारमा ५ साउनमा उजुरी परेको हो ।

अख्तियारमा परेको बेनामी उजुरीमा भन्सार प्रमुख भण्डारी, अधिकृत निर्माण भण्डारी र नायब सुब्बा राजेन्द्रप्रसाद ढुङ्गनाको मिलेमतोमा भन्सार छलेर भ्रष्टचार गरी अवैध जाँच पास हुने गरेको भन्दै उजुरी दिइएको पत्र हाम्रोमतलले फेला पारेको छ । भन्सारका कर्मचारीहरूले संस्थागत रूपमा व्यापक रूपमा राज्यको लाखौं रुपैयाँ छली गर्नुको साथै भ्रष्टाचार गरेको हुनाले अनुसन्धानको माग राख्दै अख्तियारसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, अर्थ मन्त्रालय, सम्पति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग काठमाडौ, अख्तियार इटहरी र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा पनि बोधार्थ पेश गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले उजुरी परेको खण्डमा तथ्य प्रमाण हेरेर आयोगले अनुसन्धान थाल्ने बताए । ‘सार्वजानिक पद धारण गरेका व्यक्तिले भ्रष्टचार गरेको हकमा आयोगको क्षेत्रअधिकार भित्र पर्दछ,’ उनले भने, ‘उजुरी आएको खण्डमा अख्तियारले घटनाको छानविन र उजुरी सुरू गर्नेछ ।’

शुक्रबार, ०८ साउन, २०७८, बिहानको ११:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर