देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनमा मापदण्ड विपरीतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।
भवन निर्माण कार्यमा गुणस्तरहीन सिमेन्ट, वालुवा तथा इँटाको प्रयोग गरिएको पाइएको हो । सुनसरीको देवानगञ्ज–२ स्थित भोगाधिकार प्राप्त ९ कठ्ठा ऐलानी जग्गामा यतिखेर सुविधा सम्पन्न गाउँपालिका भवन निर्माणको कार्य भइरहेको छ । आउँदो मङ्सिर मसान्तभित्र भवनको निर्माण सम्पन्न गर्ने तयारी छ । तर निर्माणाधिन प्रशासनिक भवनमा कमसल र मापदण्ड विपरितका निर्माण सामाग्री प्रयोग भईरहेको फेला परेको हो । ठेक्का सम्झौता अनुसार भवन निर्माणमा ओपिसी सिमेन्टको प्रयोग गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले दुई नम्बरी इँटा र कम गुणस्तरको पिपिसी सिमेन्टको प्रयोग गरिरहेको छ । वडा नंं. २ स्थित निर्माणाधिन दुईतले उक्त भवनमा हाल छत ढलाई, भित्री प्लास्टर र वाईरिङ लगायतका कार्यहरु सम्पन्न भईसकेका छन् । तर हालसम्म सम्पन्न भईसकेका निर्माण कार्यमा गुणस्तहीन निर्माण सामाग्रीको प्रयोग भएको देखिएको छ ।
निर्माण कार्यमा आवश्यक ओपिसी सिमेन्ट अर्डर गरेको १७ दिन बितिसकेको भएपनि समयमै नआएकाले पिपिसी सिमेन्टको प्रयोग गरिएको गाउँपालिका भवन निर्माणका साइड इन्चार्र्ज राजकुमार यादवले बताए । ‘पछिल्लो समयको लकडाउनले पनि निर्माण कार्यलाई प्रभावित बनाएको छ,’ उनले भने, ‘अर्डर गरेपछि तुरुन्तै त आउँदैन । अर्डर अनुसारको सिमेन्ट समयमै नआएकाले विकल्पमा पिपिसी प्रयोग गरेका हौं ।’
नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट पिपिसी र ओपिसी हो । पिपिसीमा ७० प्रतिशत क्लिङ्कर, २५ प्रतिशत फ्लार्यस र ५ प्रतिशत जिप्सम गरि ३० प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । यसले सिमेन्टलाई तत्कालै सेट हुन दिँदैन ।
यस्तो सिमेन्ट घरको प्लास्टर र इँटामा गारोको रूपमा प्रयोग गरिन्छ । तर ओपीसी सिमेन्टमा भने ९२ देखि ९५ प्रतिशतसम्म क्लिङ्कर र ५ देखि ८ प्रतिशतसम्म मात्रै जिप्सम र अन्य सामाग्रीहरू प्रयोग गरिएको हुन्छ । ओपिसी सिमेन्टमा क्लिङ्करको मात्रा बढी हुने भएकाले पिपिसीभन्दा छिटो सेट हुन्छ । यसलाई विशेषगरि घर र पिलरको ढलानमा प्रयोग गरिन्छ । पिपिसीको तुुलनामा ओपिसीलाई बढी गुणस्तरयुक्त मानिन्छ । तर निर्माण कार्यमा कमसल निर्माण सामाग्रीको प्रयोगले भवनको सुरक्षामा प्रश्न उब्जिएपछि स्थानीय पनि आक्रोशित बनेका छन् ।
निर्माण कार्यमा अनियमितता गर्नेलाई कारबाहीको दायरमा ल्याएर भवनमा प्रयोग गरिएका निर्माण सामाग्रीको ल्याब परीक्षण गरिनुपर्ने देवानगञ्ज–३ का बेचन मेहताले बताए । उनले भने, ‘निर्माण कार्य सुरु भएदेखि नैै कमसल सामाग्रीको प्रयोग हुुँदैछ भन्ने सुनेका थियौं । तर हालसम्म ठेकेदार कम्पनीविरुद्ध कुनै ठोस कदम चालिएको छैन । यसले निर्माण गाउँपालिकाको पनि मिलेमत्तो रहेकोे आशङ्का सहजै गर्न सकिन्छ ।’
२०७४ सालको निर्वाचन अगावैदेखि हालसम्म देवानगञ्ज गाउँपालिकाले भवन भाडामा लिएर आफ्नो प्रशासनिक कार्य सञ्चालन गर्दै आएको छ । तर भाडामा रहेको हालको गाउँपालिका भवन साँघुरो र कार्य सम्पादनको हिसाबले उपर्युक्त नभएकाले वडा नं. २ स्थित गाउँपालिकाले आफ्नैै भवन निर्माणको कार्य अघि बढाएको हो । यही मङ्सिरभित्रै निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुराँगाईले बताए ।
२०७६ चैत्र ९ गते ६ करोड २ लाख ८५ हजार ८ सय ४६ रुँपैयाँमा ठेक्का लागेको उक्त भवन २०७८ चैत्र ८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर गाउँपालिकाले सम्झौता विपरित तोकिएको मिति अगावै निर्माण सम्पन्न गर्न दबाब दिएपछि गाउँपालिकाको भवन भने गुणस्तरहीन बन्ने निश्चित भएको छ । गाउँपालिका भवन निर्माणको ठेक्का भने रविना अभिसा जे.भी. निर्माण सेवा कम्पनीले लिएको छ ।