नेपाल समूह अनिर्णित हुँदा रोकियो मन्त्रीमण्डल विस्तार

विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूह अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अझै केही समय लाग्ने भएको छ । आइतबार राति विश्वासको मत पाएका देउवाले अहिलेसम्म आफ्नो क्याबिनेटमा कांग्रेसका दुई र माओवादीका दुईजनालाई मात्रै मन्त्री बनाएका छन् ।

सुरुमा चारजनालाई मन्त्री बनाएका देउवाले पाँच दलीय गठबन्धनका सदस्यहरु अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । बुधबार नै बसेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकतामै जोड दिएको छ ।

नेता रघु पन्तका अनुसार एमाले एकतामै जोड दिँदै बैठक सकिएको बताए । उनले आजको स्थायी कमिटी बैठकमा सरकारमा जाने नजानेबारे कुनै निर्णय हुन नसकेको बताएका छन् । संवैधानिक र कानुनी जटिलताका कारण माधव पक्षले विश्वासको मत दिएर पनि देउवा सरकारमा जान आँट गरेको छैन ।

आफूलाई विश्वासको मत दिएका माओवादी, जनता समाजवादी पार्टीका दुवै समूह र नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा समेट्ने प्रयासमा देउवा छन् । तर एमालेको माधव पक्ष र जसपाको उपेन्द्र यादव पक्षले सरकारमा जाने निर्णयमा ढिलाइ गर्दा देउवाको मन्त्रिपरिषद् अहिलेसम्म पछिल्लो पटक ओलीको जस्तै पाँच सदस्यमा सीमित भएको छ ।

स्रोतका अनुसार देउवाले मन्त्रिपरिषद् विस्तार तयारी गरेपछि गठबन्धनका सदस्यहरुको अलमलले समस्या भएको छ । देउवालाई अन्तिम समयमा विश्वासको मत दिएको जसपाको महन्थ ठाकुर समूहलाई पनि सरकारमा समावेश गर्नुपर्ने बाध्यता छ ।

माधव पक्षलाई सरकारमा सहभागी गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि जोडबल गरिरहेका छन् । उनले कोटेश्वर पुगेर नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर एमाले विभाजित नभइ सरकारमा जाँदा कानुनी र संवैधानिक अफ्ठ्यारो पर्न सक्ने बुझेका नेता नेपालले आन्तरिक छलफल तीव्र बनाएका छन् । नेता नेपालले यसअघि देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरुसँग बानेश्वरमा छलफल गरेका थिए । उक्त छलफलमा केही सांसदहरुले नयाँ पार्टी खोल्ने कुरामा जोड दिएका थिए । तर अहिलेकै अवस्थामा सरकारमा जाँदा आफूहरुमाथि कानुनी प्रश्न उठाएर ओलीले कारबाही गर्न सक्नेतर्फ सांसदहरुले नेतृत्वलाई सचेत गराएका थिए ।

माधव पक्षीय सांसद मेटमणि चौधरीले विश्वासको मत दिएकाले सरकारमा जाँदा फरक नपर्ने भए पनि संवैधानिक र कानुनी प्रश्नको पहिले निवारण गर्न सके मात्रै सहज हुने बताए । उनले माधव पक्षीय नेताहरु अझै पनि अन्तिमसम्म पार्टीमै बसेर संघर्ष गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरे । पार्टी विभाजित नभइ सरकारमा जाँदा आउने कानुनी चुनौतीका कारण माधव पक्ष हतारमा छैन । माधव पक्षकोे बैठकले पनि सरकारमा जाने नजाने टुंगो नगरेपछि देउवा मन्त्रिपरिषद् विस्तार अझै धकेलिन सक्ने सम्भावना छ । देउवाले गठबन्धनका सबै सदस्यलाई सरकारमा समेट्ने गरी मन्त्रिमण्डलमा सदस्य संख्या बढाउन सक्ने विकल्पमा पनि छलफल गरिरहेको स्रोतले बताएको छ ।

उता देउवालाई विश्वासको मत दिएको जसपाको उपेन्द्र यादव समूह पनि अझै अनिर्णित छ । मंगलबार मात्रै यादव पक्षीय संसदीय दलको बैठकले दल विधानलाई सर्वसम्मतिले पारित गरेको थियो । तर उक्त बैठकमै दलका नेताको टुंगो यादव पक्षले गर्न सकेको छैन ।

यादव पक्षले दल विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगमा भइरहेकाले देउवालाई केही समय पर्खिन भनेको छ । आयोगले दललाई आधिकारिकता दिइसकेपछि मात्रै सरकारमा जाने योजना यादव पक्षले बनाएको हो । आयोगले जसपा विवादको निरुपण केही दिनमै गर्ने योजना बनाएको छ । तर यादव पक्षको बैठकले दलको नेता चयन गर्न नसक्दा प्रधानमन्त्री देउवालाई समस्या भएको छ । यादव पक्षले दलको अर्को बैठकबाट मात्रै संसदीय दलको नेता चयन गर्ने योजना बनाएको छ । उता जसपाकै महन्थ ठाकुर पक्ष पनि सरकारमा जाने योजनामा छ । तर यो समूहलाई सरकारमा लैजाने विषयमा देउवा अझै अनिर्णित रहेको उनीनिकट एक कांग्रेस नेताले बताए ।

बुधबार, ०६ साउन, २०७८, साँझको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर