विराटनगर । ठेक्का सम्झौता भइ निर्माण कम्पनीले कार्यदेश पाइसक्दा पनि विराटनगरस्थित कोशी अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणमा ढिलाइ भएको छ । अत्याधुनिक भवन निर्माण हुने स्थानमा साइड क्लियर हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो ।
कोशीमा नयाँ बन्ने भवनको जग्गामा नेपाल क्षयरोग निवारण संस्थाको भवन रहेको छ । उक्त भवन खाली गरि संरचना हटाउन कोशी अस्पतालले गरेको पत्राचारलाई क्षयरोग निवारण संस्थाले आनाकानी गरेको कारणले नयाँ भवन निर्माणमा ढिलाइ भएको हो ।
३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ लागतमा पहिलो चरणमा चार तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते निर्माण कम्पनी रमण भूमि बीआइपील जेवी र सहकरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाइ विराटनगरबीच भएको थियो ।
सम्झौता भएको दिनदेखि निर्माण सुरू गर्न निर्माण कम्पनीलाई आयोजनाले कार्यदेश दिएको थियो । तर, निर्माण कम्पनीले आवश्यक उपकरणहरू निर्माणस्थलमा पु¥याएर काम सुरू गर्न लाग्दा साइड किलियर नहुँदा निर्माणमा ढिलो भएको रमण भूमि बीआइपीएल जेवी विराटनगरका प्रतिनिधि कृष्ण बोहोराले जानकारी दिए । ‘अस्पतालको भवन निर्माणको सम्झौता भएर काम गर्ने कार्यदेश पाएपछि हामीले २५ असारमा दुई वटा स्काभेटर फिल्डमा लगेर राख्यो र निर्माणस्थल बाहिर घेराबार गरियो,’ उनले भने, ‘हामीलाई तीन दिनभित्र साइड क्लियर हुने जानकारी आएको थियो । तर अहिलेसम्म हुन सकेको छैन । साइट क्लियर भए हामी धमाधम काम सुचारू गर्ने थियौं ।’ समयमै काम सुचारू गर्न नसके सम्झौतामा तोकिएको मितिमा निर्माण कार्य सम्पन्न हुन नसक्ने उनले बताए । ‘तेही भएर जति चाँडो साइड क्लियर भए त्यहीं नै चाँडो काम हुने थियो,’ उनले भने ।
सम्झौता अनुसार कोशी अस्पतालको नयाँ भवन २०८० पुस २२ गते सम्पन्न गरि हस्तान्तरण गर्ने तयारी गरि ठेक्का लगाएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । साइट क्लियर नभएको कारणले निर्माण कार्यमा अवरोध भएको जानकारी आएपछि कोशी अस्पतालाई सहजीकरण गरिदिन पत्रचार गरेको सूचना अधिकारी रामले जानकारी दिए । साइड क्लियर भएलगतै काम सुचारु हुने निर्माण कम्पनीले जानकारी गराएको उनले बताए । ‘त्यही भएर कोशी अस्पतालमा साइड क्लियर गराइदिन हामीले पत्राचार गरेका हौं,’ उनले भने ।
यता कोशी अस्पतालका सुपरिटेन्टडेन्ट (मेसु) डा.चुमनलाल दासले क्षयरोग निवारण संस्थाले भवनभित्र रहेको केही सामानहरू सार्न बाँकी रहेकोले ढिलो भएको बताए । ‘यसअघि हप्ता दिनभित्रमा भवन खाली गर्ने भनिएको थियो । तोकिएको समयमा नसकिएपछि २÷३ दिनभित्रमा भवन खाली गर्ने जानकारी आएको छ,’ मेसु दासले भने, ‘तीन चार दिनभित्र पनि खाली नभए डोजर लगाएर संरचना अटाउने छौं ।’ मेसु दासका अनुसार क्षयरोगको सामान जिल्ला समन्वय समिति मोरङको हलमा सार्ने तयारी गरेको छन् ।
यस्तो बन्दैछ कोशीको अत्याधुनिक भवन
३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा पहिलो चरणमा अन्डरग्राउण्डसहितको चार तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । बहुवर्षीय योजना अनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ ।
चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए ।
दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ । पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँलागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा रमण भूमिले ठेक्का पाएको हो ।
‘पहिलो चरणमा ४ तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ,’ उनले भने । मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि ५ बेड पु¥याउने कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।