लक्ष्मी पोखरेल भित्रको ‘लक्ष्मी’

 ममता मृदुल

नेपाली भाषा साहित्यको अग्लो शिखर चढ्न सजिलो छैन । सगरमाथाभन्दा अग्लो भाषा साहित्यको शिखर चढ्ने आँट चानचुने आँट पनि होइन । यो थाहा पाएपनि शिखर चढ्न तयार हुनुभएकी स्रष्टाको नाम लक्ष्मी पोखरेल भन्न मन लाग्यो । मन त मनै हो जे पनि लाग्न सक्छ । यस्तै मन लाग्ने क्रममा लक्ष्मी पोखरेलले पनि आफ्ना यात्राको क्रममा भएको रमाइला पललाई समेटेर तयार गर्नु भएको तीर्थाटन बेग्लै रोमाञ्चक कृति हो । यो कृतिमा मात्र तीर्थका कुरा छैनन् । त्यहाँ मिसिएका मनका छालले समुन्द्रको छाललाई समेत पराजित गरेको छ । लक्ष्मीको ईश्वरप्रतिको आस्थालाई भगवान् ले नियालेर मुस्कुराएको महसुस हुन्छ । तीर्थ जानु भनेको मन्दिरमा गएर मुर्ति हेरेर आउनु मात्र हैन । मुर्तिभित्रको भगवान् खोज्ने क्षमताको पनि परीक्षा हुनु हो ।

प्रयोग गएर त्रिवेणीमा नुहाउनु भनेको शरीर बाहिरको मैलो पखाल्ने मात्र हैन आत्मा पनि पखाल्न सक्नुपर्छ । गंगाजलको थोपाले घर पवित्र हुन्छ भने चोबलेको शरीर कति पवित्र होला । दया, माया, क्षमाको बीचमा भौतारिएको चेतनशिल मानवलाई कुनै रोगले डराउन सक्दैन । धक फुकाएर प्रसाद खान सक्ने कुरा छ । मान्छे प्रकृतिको काखमा बेस्सरी रमाउँछ । यो सत्य हो । आफ्ना मनका अधुरा ईच्छा पूरा गर्न ईश्वरको साहारा लिन्छ । चाहना मनभरि बटुल्छ । सबै पूरा नहुन पनि सक्छ । तैपनि चाहना राख्छ । कैयन पीडा सानो खुसीको चाहनामा सहन्छ । यो कुराले कहिलेकाँही नराम्रा मोडमा पनि पु¥याउँछ । वृद्धाश्रमको पीडा जब कागजमा छरिन्छ । कताकता मुटु चस्किन्छ । नयन आँशुले टिलपिलाउँछ । यो पलको बारेमा जब लेख्न बसिन्छ नसोचेको मोडमा जीवन टुगिंनु हो जस्तो लाग्छ ।

जीवन यात्रा हो । यहाँ रोमाञ्चकता र कौतुहलता हुन्छ । कसरी यात्रा पूरा गर्ने उत्साह मिश्रित डर पनि हुन्छ । जस्तो भएपनि यात्रा एकदिन सकिन्छ । यो पुस्तक भित्र मैले लक्ष्मी भित्रको अर्को लक्ष्मी पाएकी छु । नाम लक्ष्मी राख्दैमा लक्ष्मी हुन सकिँदैन अरबौको मालिकको नाम गरिवनाथ र धनेले बाटोमा भीख मागेको पनि देखिन्छ । तर, यहाँ नाम अनुरूपकी लक्ष्मीसँग साक्षात्कार भएको छ ।

सोह्र शीर्षक राखेर लेखिएको तीर्थाटनमा सबैमा कौतुहलता रोमाञ्चकता र सहयोगी मनको मिलन देखिन्छ । एक अर्काप्रतिको विश्वास र सहयोगी भावले यात्रा सहज हुन्छ । खुसी हुन ठूलो कुराको आवश्यकता पर्दैन सानो कुरामा पनि उत्पात रमाउन सकिन्छ । बाँडेर खाएको अलिकति नुनले दिनभरिको खानाको माग पूरा गर्छ । लाखौंमा किन्न नसकिने पलहरू समेटेर यो कृति तयार गरिएको छ । लाग्छ सारा जीवनका खुसी यही छ । कृति पढ्दा पढिरहुँ लाग्ने छ । यस्ता कृतिले यात्रा गर्न उक्साउने छन् कसरी जानुहोला भन्नेलाई ए सजिलो पो रहेछ जान्छु भन्ने विचार उत्पन्न गराउने क्षमता राखेको छ । तीर्थाटन कृति प्रकाशित हुनु राम्रो काम हो । सकारात्मक सोचको उपज हो । राम्रो काममा लागेको मनको बारेमा गफ गर्नको मजा बेग्लै हुन्छ यहाँ राम्रा काम पनि धेरै गर्न सकिन्छ भनेर बारम्बार आफूलाई अगाडि बढाई रहनु हुने स्रष्टा र उहाँको कामको बारेमा लेख्नलाई मलाई केहीले रोकेन भन्दै लक्ष्मी पोखरेलको कलम यात्रा निरन्तर बढिरहोस् शुभकामना दिन चाहन्छु ।

सोमबार, ०४ साउन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर