विराटनगर । ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएको खुलेको छ ।

सुनसरीको धरानमा ब्राउनसुगरसहित पक्राउ परेका उनले भारतीय नागरिक ठाकुरप्रसाद सिंहलाई बाबु बनाएर नागरिकता लिएको पाइएको हो ।

मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम ब्राउन सुगरसहित सिंह पक्राउ परेका थिए । उनीसँग दोहोरो नागरिकता भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको थियो । सप्तरीको तत्कालीन पकरी गाविस–२ ठेगाना देखाएर उनले नागरिकता लिएका हुन् ।

उनको नागरिकतामा बुवा बनेका ठाकुरप्रासद भारत बिहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम मधुवनी निवासी भएको प्रमाण सप्तरी प्रहरीले जुटाएको छ । ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले सप्तरी प्रहरीलाई उनी भारतीय नागरिक भएको उनको भारतमा दुई छोरा रहेको प्रमाणित गरेर दिएकी छन् ।

सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमारको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसादको नागरिकताको छानबिन सुरु गरेको थियो । लागुऔषध मुद्दामा सुनसरीको झुम्का कारागारमा पूर्वपक्षको लागि रहेका उनलाई नक्कली नागरिकता अनुसन्धानको लागि सप्तरी प्रहरीले जिल्लामा लैजाने तयारी गरेको बुझिएको छ ।

राजकुमार साह स्वर्गीय रामबालक सिंहको चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिक भएको सबै प्रमाण भेटिएको छ । उनी भारतीय नागरिक रहेको र भारतमा पनि उनको आपराधिक पृष्ठभूमी नै रहेको अनुसन्धानबाट खुलेको छ ।

उनको साथमा नेपाली नागरिकता नम्बर २/०७३९३११३ नम्बरको जिल्ला प्रशासन कार्यालय सप्तरीको नागरिकता थियो । तर, जिल्ला प्रशासन कार्यालय सप्तरीमा सो नम्बरको नागरिकता जारी न भएको प्रमाणित भएको छ ।

भारतमा अपराधिक घटनामा जेल परेर छुटेपछि नेपाल प्रवेश गरेका उनले यतै अर्को विवाह गरेर किर्ते नागरिकता बनाएको पाइएको छ । उनको नेपालमा करोडौंको सम्पत्ती रहेको बुझिएको छ ।