लोड हुँदैछ...

मेनु

कनकाईमा ब्राउन सुगरसहित युवक पक्राउ

कनकाईमा ब्राउन सुगरसहित युवक पक्राउ

विर्तामोड । झापाको कनकाई नगरपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार मंगलबार साँझ करिब ५ बजे कनकाई नगरपालिका–५ तुलसीबारी र वडा नम्बर ६ को सीमाक्षेत्रमा विशेष निगरानीसहित स्वीप अपरेशन सञ्चालन गरिएको थियो। सोही क्रममा शङ्कास्पद अवस्थामा फेला परेका एक युवकलाई प्रहरीले जाँच गरेको थियो।

प्रहरी वरिष्ठ नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले कनकाई नगरपालिका–९ घैलाडुब्बा निवासी २६ वर्षीय पवनकुमार चौधरीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट १७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ। उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

झापामा पछिल्लो समय लागूऔषध प्रयोग र कारोबारका घटनामा वृद्धि देखिएपछि प्रहरीले विभिन्न स्थानमा नियमित रूपमा स्वीप अपरेशन सञ्चालन गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै सूचनाका आधारमा निगरानी, खोजतलास तथा नियन्त्रणका गतिविधि तीव्र बनाएको जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबार तथा दुर्व्यसन नियन्त्रणका लागि सुरक्षा निकायसँगै अभिभावक, शैक्षिक संस्था, स्थानीय तह र समुदायको सक्रिय भूमिका आवश्यक रहेको छ। प्रहरीले लागूऔषधसम्बन्धी कुनै सूचना भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।