झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गए राति नवदुर्गा पेट्रोलपम्प अगाडि प्रदेश१–०१–००१क ११८८ नम्बरको टिपरले साइकलयात्रीलाई ठक्कर दिएको थियो । गौरादह–४ निवासी गुरागाईं डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेका बेला दुर्घटनामा परेका हुन् ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका गुरागाईंलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरिया रहेका छन् । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।