लोड हुँदैछ...

मेनु

पर्यटकमैत्री सुरक्षा व्यवस्थाका लागि पर्यटक प्रहरी तालिम

पर्यटकमैत्री सुरक्षा व्यवस्थाका लागि पर्यटक प्रहरी तालिम

विराटनगर । कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण तथा सहजीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सातदिने पर्यटक प्रहरी अनुशिक्षण तालिम सुरु गरेको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ लाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरिरहेका बेला पर्यटकमैत्री सुरक्षा वातावरण निर्माण गर्न तालिम सञ्चालन गरिएको हो।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाले तालिमको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले सम्पन्न मुलुक भएकाले यहाँ भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरणमा पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए।

एसएसपी थापाले पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार, आवश्यक सहजीकरण तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरूलाई आवश्यक ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। उनले तालिममा सहभागी प्रहरी कर्मचारीहरूलाई प्राप्त ज्ञान र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिएका छन्।

उनका अनुसार पर्यटकले नेपाल भ्रमणका क्रममा प्राप्त गर्ने सकारात्मक अनुभवले प्रदेश तथा देशको पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सेवामुखी, जिम्मेवार र पर्यटकमैत्री प्रहरी व्यवहार आवश्यक छ।

कार्यक्रममा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन पर्यटक प्रहरीको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताए। उनले प्रमुख पर्यटकीय गन्तव्यहरूमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै पर्यटकमैत्री वातावरण निर्माण गर्न यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

तालिममा जुनियर प्रहरी अधिकृतसहित ३० जना प्रहरी कर्मचारीको सहभागिता रहेको छ। सात दिनसम्म सञ्चालन हुने तालिममा पर्यटक सुरक्षा, पर्यटकसँगको व्यवहार, उद्धार तथा सहजीकरण, पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थापन, आपत्कालीन अवस्थामा प्रतिक्रिया तथा सेवा प्रवाहलगायत विषयमा प्रशिक्षण दिइनेछ।

कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा पछिल्लो समय पर्यटक आगमन बढ्दै गएको सन्दर्भमा सुरक्षित, व्यवस्थित र विश्वासिलो पर्यटन वातावरण निर्माण गर्न पर्यटक प्रहरीको क्षमता विकास आवश्यक रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। तालिमबाट प्रशिक्षित प्रहरी कर्मचारीहरूले प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमा परिचालन भई पर्यटकलाई प्रत्यक्ष सेवा तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।