लोड हुँदैछ...

मेनु

सुरक्षा कोषमा आवद्ध हुने समय एक महिना थप गर्न व्यापार संघ र ट्रेड युनियनको माग

सुरक्षा कोषमा आवद्ध हुने समय एक महिना थप गर्न व्यापार संघ र ट्रेड युनियनको माग

विराटनगर । मोरङ व्यापार संघ र मोरङ–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिको संयुक्त बैठकले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको पछिल्लो आव्हान तथा सुविधा दिने म्याद २०७८ साउन मसान्तसम्मका थप गर्न सरकारसँग माग गरेको छ ।

मोरङ–सुनसरी कोरिडोरका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक÷कामदारहरुको विद्यमान अवस्था, सरकारद्वारा निर्देशित सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आवद्ध हुन सरकारबाट दिइएका पछिल्ला सुविधाहरु आदि विषयमा छलफल गरेर उक्त निष्कर्ष निकालेको हो ।

छलफलका क्रममा ट्रेड युनियनका पदाधिकारीहरुले श्रमिक÷कामदारलाई कोभिड १९ संक्रमण तथा निषेधाज्ञाका कारण प्रत्यक्ष असर परेको, स्वास्थ्य सुरक्षाको जोखिम उच्च भएपनि सरकारबाट खोपलगायत कुनै प्रकारका सहयोग उपलब्ध हुन नसकेको भन्दै दुःख व्यक्त गरेका थिए । उनीहरुले सामाजिक सुरक्षा कोषका सन्दर्भमा कोष संचालन सम्बन्धी सरकारद्वारा गरिएका पछिल्ला केहि संशोधनहरुले राहत तुल्याउने देखिए पनि प्रभावकारी ढंगले कार्यान्वयन नभएको प्रति संघको ध्यानाकर्षण समेत गराएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको पछिल्लो आव्हान तथा सुविधा दिने म्याद निषेधाज्ञा कै अवधिमा समाप्त हुन पुगेकोले म्याद थप गर्नुपर्ने उनीहरुको जोड छ ।

कार्यक्रममा अध्यक्ष मून्दडाले सामाजिक सुरक्षा कोषका कार्यविधिको संशोधन एवं क्रमिक सुधारका लागि संघ लगायत निजी क्षेत्रका औद्योगिक÷व्यवसायिक प्रतिष्ठानले शुरु देखिनै जोडदार पहल गर्दै आएको बताए ।

मोरङ व्यापार संघको पहलमा विराटनगरमा भएको संयुक्त बैठकमा संघका अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनिलकुमार साहलगायतको सहभागीता थियो । यस्तै मजदुर प्रतिनिधिहरुको तर्फबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ, प्रदेश नं. १ अध्यक्ष टिका प्रसाई, नेपाल ट्रेड युनियन, कांग्रेसका सुशिल कोईरालालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।