मोरङको ग्रामीण क्षेत्रमा विद्युत चुहावट बढ्दै

विराटनगर । नियमित अनुगमनको अभावमा मोरङको ग्रामीण भेगहरुमा पछिल्लो समय विद्युत चुहावट बढ्दै गएको छ ।

जिल्लाका विभिन्न गाउँपालिकाहरुमा मुल प्रसारण लाईनबाट हुकिङ गरि विद्युत चुहावट गर्र्नेहरुको संख्या बढ्दै गएको हो । कोरोना महामारीको प्रभाव स्वरुप विद्युत प्राधिकरणको अनुगमन टोेली भित्री गाउँबस्तीमा पुग्न नसकेको बिषयको फाईदा उठाउँदै मिटर जडान गरेका सेवाग्राहीहरुले पनि विद्युत चोरी गर्ने गरेका छन् । बिशेषगरि यसपटकको निषेधाज्ञा अवधिमा मोरङको कटहरी गाउँपालिकाको उत्तरी वडाहरुमा विद्युत चोरी गर्नेहरुको संख्या ह्वात्तै बढ्ेको छ । कटहरी ५ स्थित मौधरा, राजवंशी टोल र जमुआ मरान तथा वडा नं. ६ स्थित थलाहा, भौडाहा, केशोरिया, भाथी–भौडाहा, जितपुर र ढेलाखौकी लगायतका टोल–बस्तीहरुमा विद्युत चुहावट बढ्दै गएको छ । स्थानीयहरुले आफ्नो घर तथा पसलमा मात्र नभई सार्वजनिक संरचनाहरुमा समेत हुकिङ गरिएको विद्युत प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । उनीहरुले विद्युत प्राधिकरणको निष्क्रियताका कारण विद्युत चुहावट बढ्दै गएको गुनासो गरेका छन् ।

तर नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले भने अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष विद्युत चुहावटमा झण्डै २ प्रतिशतले कमी आएको जानकारी दिएको छ । कोरोना महामारी अघि प्राधिकरणको नियमित अनुगमनले विद्युत चुहावटमा कमी आएपनि बैशाख महिनायता अनुगमनलाई निरन्तरता दिन नसकिएको वितरण केन्द्रले जनाएको छ । निषेधाज्ञा अघि विद्युत चुहावटमा संलग्न उपर कानुन बमोजिम कारबाही समेत गरिएको विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश गोहिवारले बताउनुभयो ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रले विराटनगर महानगरपालिकाको साथै कटहरी, ग्रामथान, बुढीगंगा र जहदा गाउँपालिकामा समेत ९५ मेगावाट विद्युत प्रवाह गर्दै आएको छ । अघिल्लो आ.ब.मा प्राधिकरणको वितरण क्षेत्रमा ९.६१ प्रतिशत विद्युत चुहावट गर्ने गरेकोमा हाल उक्त दर ७.६९ प्रतिशतमा झरेको जनाईएको छ ।

आइतबार, १३ असार, २०७८, दिउँसोको ०३:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर