विराटनगर (एजेन्सी) । उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ए मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।
ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । एन्जल डि मारियाको थ्रु बलमा गोमेजले सुन्दर फिनिस गरेका थिए ।
त्यसअघि आठौं मिनेटमा गुस्ताभो गोमेज र रोबर्ट पिरिसको समन्वय नमिल्दा सर्जियो अगुएरोले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । १८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । एक गोलले पछि परेको पाराग्वेले बल पोसेसन राख्दै आक्रमण बुन्ने प्रयास गरेपनि अर्जेन्टिनाको बलियो रक्षापङ्ति तोड्न सकेन ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्जल डि मारियाले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाए । ५७औं मिनेटमा काकु र अल्मिरोनको समन्वयमा बनेको मुभमा काकुको प्रहारलाई क्रिस्टियन रोमेरोले क्लियर गरिदिदा पाराग्वेको बराबरी टारे ।
६१औं मिनेटमा काकुकै कर्नरलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले पञ्च गर्दै बचाए । ७६औं मिनेटमा अल्भोसको पासमा एल्मिरोनले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई रोमेरोल ब्लक गर्दै संकट टारे । ८९औं मिनेटमा एल्मिरोनले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउँदा पाराग्वे बराबरीबाट चुक्यो ।
यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।
यही समूहको अर्को खेलमा उरुग्वे र चिलीले १–१ गोलको बराबरी खेले ।।
मंगलबार बिहान भएको खेलमा चिलीले सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेसँगै १–१ गोलको बराबरी खेलेको हो ।
एरिना पान्टानल कुइउवा माटो ग्रासो ब्राजिलमा मंगलबार बिहान भएको खेलमा चिलीका इडुआर्डो भार्गासले गोल गर्दा उरुग्वेले आर्टुरो भिडालको आत्मघाती गोल उपहार पाएको थियो ।
प्रतिस्पर्धात्मक खेलको छैटौ मिनेटमा चार्लेस एरानग्वेजले गरेको प्रहारलाई डिफन्डेरले ब्लक गरिदिदा चिली अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा लुइस सुआरेजको पासमा जिओरजियानको डि एरासकेइटाको प्रहारलाई चिलीका गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे । १७औं मिनेटमा चिलीका इरिक पुग्लरको प्रहार सदुपयोग हुन सकेन ।
२५औ मिनेटमा इडुआर्डो भार्गासको गोलबाट चिलीले अग्रता लियो । उनले बिन बेरेन्टेनको पासमा कठिन एंगलबाट गोल गरेका थिए । २७औं मिनेटमा सुआरेजले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले अवसर खेर फाल्दा उरुग्वे बराबरीबाट चुक्यो । ४४औं मिनेटमा इडिन्सन काभानीको पासमा जियोभानी गोन्जालेजले अवसर खेर फाल्दा उरुग्वेले खेल बराबरी गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा उरुग्वेले लगातार दुई आक्रमण बुनेपनि सदुपयोग गर्न सकेन ।
दोस्रो हाफमा पनि उरुग्वेले आक्रमणलाई निरन्तर जारी राख्यो । ५०औं मिनेटमा काभानीले अवसर खेर फाल्यो । ६५औं मिनेटमा फकुन्डो टोरेस र लगत्तै माटिएस भिसिनोदे अवसर खेर फाल्दा सोही मुभमा आर्टुरो भिडालले आत्मघाती गोल गरेपनि उरुग्वेले खेललाई १–१ गोलको बराबरीमा ल्यायो । लुइस सुआरेजको प्रहार भिडाललाई लाग्दै गोलमा परिणत भएको थियो ।
७१औं मिनेटमा फकुन्डो टोरेस चुक्दा उरुग्वेले अग्रता लिन सकेन । ७३औं मिनेटमा डिएगो गोडिनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ७७औं मिनेटमा जिन मेनेसेस र ७८औं मिनेटमा लुसियानो एरिगाडाले अवसर खेर फाल्दा चिलीले अग्रता लिन सकेन ।