मोरङमा निषेधाज्ञा एक साता थप

विराटनगर । केही खुकुलो प्रावधानसहित मोरङ प्रशासनले असार ७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको छ ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम निषेधाज्ञाको समयावधि थप गरेको हो । असार १ गते बिहान १० बजेदेखि लागु हुने गरि असार ७ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा लम्ब्याईएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

उनले अबको निषेधाज्ञामा खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछामासु र पुस्तक पसल लगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने जानकारी दिए । ‘अब वर्कसपहरु पनि बिहानैदेनि सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘सरकारी कर्मचारीहरुले आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।’

निषेधाज्ञा आदेशानुसार अब दुध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने पाइने छ । यस्तै सबैप्रकारका कृषिजन्य उत्पादनको ओसारपोसारमा पनि कुनै रोकटोक नहुने आदेशमा उल्लेख छ ।

मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भने निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ ।

 

सोमबार, ३१ जेठ, २०७८, दिउँसोको ०२:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर