विराटनगर। जंगली च्याउ खाँएर इलामको सन्दकपुरमा दुई जनाको मृत्यु भएको छ।
सन्दकपुर गाउँपालिका–१ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको गत जेठ २२ गते राति मृत्यु भएको हो।
च्याउ खाएपछि विरामी भएका बिरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
जेठ २२ गते राति बिरमान राईको घरमा उनीहरुले च्याउ खाएका थिए। च्याउ खाएलगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बीएण्डसी अस्पताल झापा रेफर गरेको थियो।

