विराटनगर । नेपाल उद्योग परिसङ्घ, प्रदेश १ ले कोरोना संक्रमण र लकडाउनका कारण समस्यामा परका १ सय मजदुरलाई राहत वितरण गरेको जनाएको छ ।
उद्योग परिसंघ प्रदेश १ का बोर्ड सदस्य तथा राठी स्वीच इण्डस्ट्रिजका डाइरेक्टर राजेन्द्र राठीको प्रायोजनमा १०१ विपन्न मजदुर परिवारलाई आज राहत वितरण गरिएको हो ।
राहत सामग्रीमा प्रति पोका चामल १० किलोग्रामसहित दाल १ के.जी, खाने तेल, नून, बिस्कुट, गरी १ लाख मूल्य बराबरको सामान मजदुरका परिवारलाई हस्तान्तरण गरिएको नेपाल उद्योग परिसङ्घ, प्रदेश १ का महानिर्देशक बिजय हरि शर्माले जानकारी दिनुभयो ।
विपन्न तथा असहाय परिवारलाई राहत स्वरुप खाद्यान्नलगायतका सामग्री वितरण गर्न र राहत कार्यमा संलग्न हुन इच्छुक स्वदेशी तथा विदेशी संघसंस्था प्रतिष्ठान वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान, गैरसरकारी संस्थाहरु समेतलाई राहत वितरणका लागि उद्योग परिसंघले समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाएको शर्माको भनाइ छ ।
‘कडा लकडाउन, आवागमन र ढुवानीमा अवरोध अनि कामदारलाई आवतजावत गर्नसमेत रोक लगाइएका कारण प्रदेश नम्बर १ का अधिकांश उद्योग आधा क्षमतामा सञ्चालन गर्न बाध्य हुनुपरेको छ,’ शर्माले भने, ‘यसले गर्दा आधाभन्दा बढी औद्योगिक कामदार अहिले खाए भरे के खाने भन्ने अवस्थाले पीडित बनेका छन्, यही परिस्थितिलाई दृष्टिगत गरेर नेपाल उद्योग परिसङ्घले राहत वितरण गरेको हो ।’