विराटनगर । शुक्रबार एकैपटक १३ जना मन्त्रीलाई बर्खास्त गर्दै १३ जनौं नयाँमन्त्री थपेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः केही मन्त्री थप्न लागेका छन् ।
यसरी मन्त्रीको रुपमा थप हुनेहरुमा प्रदीपकुमार ज्ञवाली, महेश बस्नेत, खगराज अधिकारी, नारदमुनि राना, सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ । उनीहरुलाई आइतबार साँझसम्ममा सपथ गराउने तयारी गरिएको बुझिएको छ । अहिले पनि प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैं राखेका छन् ।
प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित तर, विवादित छवि भएका बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको एमाले स्रोतको दाबी छ । यस्तै यसअघिको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली गृहमन्त्रीमा आउने सम्भावना रहेको चर्चा छ । यस्तै खगराज अधिकारीले पनि गृह मन्त्रालयको इच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।
यस्तै कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद नारदमुनि रानालाई पनि मन्त्री बनाउनु पर्ने दबाब प्रधानमन्त्रीलाई छ । राना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाइ छ ।
त्यस्तै, मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने लाइनमा सुजिता शाक्य र विमला पौडेलको नाम पनि चर्चामा छ ।