विराटनगर । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको संघीय सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।
सो समूहले मन्त्रीको टुंगो लगाएको भएपनि कुनकुन मन्त्रालय पाउने भन्ने विषय अझै टुंगिएको छैन । जसपाले राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ, र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री र दुईजना राज्यमन्त्री हुने बताइएको छ ।
गृहमन्त्रालयमा दाबी गर्दै आएका राजेन्द्र महतोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएका छन् । यस्तै जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुगों लाग्न बाँकी रहेको बताइएको छ ।
हिंजो भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा अोलीले शहरी विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूभि व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए । जसपा नेपालले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर हालसम्म यस विषयमा कुरा मिलेको छैन । मन्त्रालयमा कुरा मिलेपछि आजै साँझसम्म सपथ गर्ने तयारी गरिएको छ ।