तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
आठराई गाउँपालिका ६ वडाका वडासदस्य तेजबिक्रम कन्दङ्वालाई प्रहरीले पक्राउ गरेको हो ।
कन्दङ्वाले दोस्रो श्रीमती घरमा ल्याएपछि उनको पहिलो श्रीमती विष्णु कन्दङ्वाले प्रहरीमा जाहेरी दिएको आधारमा पक्राउ गरिएको हो ।
कन्दङ्वाले गत शनिबार दोस्रो विवाह गरेका थिए । उनले हरिकला आचार्यलाई दोस्रो श्रीमतीको रुपमा घरमा भित्र्याएका थिए ।
वडासदस्य कन्दङ्वाको पहिलोपट्टिको ३ छोरी र १ छोरा छन् । हरिकलाको पनि २ छोरा छन् ।
कन्दङ्वालाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । पक्राउ परेका वडासदस्य कन्दङ्वा र हरिकलालाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
मुलुकी अपराध संहिता अनुसार विवाहित पुरुषले अर्को विवाह गर्न पाउँदैन । त्यसो गर्नेलाई ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुन्छ भने विवाह बदर हुन्छ ।

