विराटनगर । हरेक हप्ताजसो देशबासीको नाममा सम्बोधन, सार्वजनिक समारोह आदि मार्फत देशले विकास र समृद्धिको अनुपम उचाई चुम्दै गएको भन्ने प्रधानमन्त्री केपी ओली र उहाँ नेतृत्वको सरकारलाई प्रदेश १ को राजधानी विराटनगर नजिकैको विद्यालयमा भेटिएको एउटा दृष्यले प्रश्न गरेको छ ।
जनतालाई रेल, पानी जहाज, सुरुङ मार्गको सपना देखाइरहेको सरकारले देशका कर्णधार उत्पादन गर्ने विद्यालयहरुमा गरेको लगानी र सुधारको अवस्था विद्यालयको दृष्यले स्पष्ट बोलिरहेको देखिन्छ ।
मोरङको साविकको तेतरीया गाउँपालिको जुन जिल्लामै सबैभन्दा पहिले वालमैत्री घोषणा भएको गाविस थियो । त्यही गाउँपालिकाको लोहासुर भन्ने टोलमा रहेको एउटा आधारभूत विद्यालयको कक्षा कोठामा बालबालिका बस्दैनन् । स्थानीयले कक्षा कोठालाई गाई बाँध्ने गोठ बनाएका छन् ।
विद्यालयमा साइन बोर्ड राखिएको छैन जसले गर्दा विद्यालयको नाम खुल्दैन । केही दिन अघि मोतिपुर तर्फ जाँदै गर्दा अचानक पानी परेपछि नेताचोकका शंकर घिमिरे ओत लाग्न स्कुलभित्र पसे । त्यतिबेला स्कुल भित्रको दृष्य देखेपछि उनी छक्क परे । ‘म मोतिपुर जाँदै थिएँ पानी परेपछि ओत लाग्न स्कुल भित्र पसें,’ घिमिरेले भने ‘कक्षा कोठामा गाई बस्तु बाँधिएका थिए । त्यो स्कुललाई गोठ बनाइएको रहेछ, मैले फोटो खिचेर शिक्षा अभियानमा काम गर्ने साथीहरुलाई पठाइदिएँ । साइन बोर्ड थिएन त्यसैले स्कुलको नाम भने मैले देखिन ।’
वालमैत्री गाउँमा भएका विद्यालयहरुको भौतिक अवस्था र तिनको उपयोगले हाम्रा तीनै तहका सरकारहरुलाई गिज्याइरहेको छ । स्थानीय सरस्वती नमुना माध्यामिक विद्यालयको शौचालयको अवस्था नै यस्तो छ भने नमुना हुनका लागि प्रयासरत अरु विद्यालयको हालत स्वतः अनुमान गर्न सकिन्छ ।
त्यस पालिकामा भएका विद्यालयमध्ये तीन ओटा आधारभूत विद्यालयहरु मध्यम स्तरमा छन् भने एउटा नमुना माविले भौतिक सुधारको प्रयत्न गर्दैछ । अधिकांश विद्यालयमा शैक्षिक गुणस्तर अत्यन्तै कमजोर छ भने ३० प्रतिशत भन्दा बढी बालबालिका विद्यालय बाहिर छन् ।’
ग्रामथान गाउँपालिकामा भएका मध्ये तीन वटा स्कुलमा शौचालय छैन भने ५ वटामा विद्यार्थीका लागि पिउने पानीको कुनै प्रवन्ध गरिएको छैन । पानी भएको ठाउँमा पनि फिल्टर राखिएको छैन । शौचालयहरु भएका विद्यालयमा पनि त्यसको व्यवस्थापन र सरसफाइमा ध्यान नदिइएको केही समय अघि अभियानले गरेको अनुगमनका क्रमममा पाइएको भट्टराईले जानकारी दिए ।
सरकारी विद्यालयहरुको वर्तमान अवस्था (फोटोमा):
तस्बिरहरु : श्रीमन्त भट्टराईबाट