इसाई समाजद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । इसाई समाज विराटनगरले एफजिटी चर्च नेपालको आर्थिक सहयोगमा कोशी अस्पताल विराटनगरलाई कोभिडसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।

अस्पताल परिसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरि समाजले लेबल २ को कम्प्लिट पीपीई सेट २०० थान, १०० मिलिलिटरको स्यानिटाइजर ५०० बोत्तल, सर्जिकल मास्क १६ हजार २०० थान, एक्जामिनेसन ग्लोब्स ४ हजार २०० थानलगायत ५ लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्रीहरू अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सहयोगी चर्चका पास्टर युवराज प्रधानले देशलाई खाँचो परेको बेला कोही चुप लागेर बस्न नसक्ने भन्दैआफ्नो चर्च समूहले चर्चमा संकलन भएको भेटी रकमहरू यतिखेर महामारीको सामना गर्नका लागि खर्च गरेको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले इसाई समुदायद्वारा गरिएको यो ठूलो सहायताले केही समयका लागि पीपीइको खाँचो पूरा भएको बताउँदै अक्सिजन सिलिन्डरको भने अझै अभाव रहेको बताए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि, समाजसेवी एवम् प्रदेशसभाका सदस्य केदार कार्कीले स–साना सामग्रीहरू हस्तान्तरण गरि फोटो खिच्ने होडबाजी चलिरहेको बेला इसाई समाज विराटनगरले भने अस्पतालसँग समन्वय गरि खाँचो परेको सामान नै उपलब्ध गराएर महत्वपूर्ण कार्य गरेको बताउनुभयो । सो अवसरमा इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्ल, अस्पतालका मेसु चुमनलाल दास, इसाई समाज विराटनगरका उपाध्यक्ष रामप्रसाद पौडेल, अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

आइतबार, १६ जेठ, २०७८, दिउँसोको ०४:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर