विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधान र गणतन्त्रलाई संकटमा पारेको विपक्षीले आरोप लगाइरहेका छन् ।

कोरोना महामारीले यसैबेला जनता आक्रान्त छन् । तर, जिल्ला प्रशासन कार्यालय मोरङले भने जनतालाई तीन दिनसम्म घर–घरमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन उर्दी जारी गरेको छ ।

कोरोना संक्रमणका कारण बिरामी परेका जनताले अक्सिजन र अस्पतालमा उपचार नपाएर ज्यान गुमाइरहेका बेला जिल्ला प्रशासन कार्यालयको यो उर्दीले जनताप्रतिको संवेदनशिलताको उपहास गरेको छ ।

मोरङका सहकायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी भएको सूचनामा जेठ १४ गतेदेखि १६ गतेसम्म घरघरमा दिपावली गर्न भनिएको छ । ‘गणतज्त्र दिवस, २०७८ मूल समारोह समितिको निर्णयानुसार मिति २०७८ साल जेठ १५ गते ‘गणतन्त्र दिवस’का अवसरमा यही जेठ १४, १५ र १६ गते तीनदिनसम्म मोरङ जिल्लाका हरेक घर–घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ गणतन्त्र दिवस मनाउनु हुन सम्पूर्ण जिल्लाबासी आमनागरिकहरुका अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

उक्त सूचनामा कोरोना संक्रमणका कारण ज्यान गुमाइरहेको र दिवस मनाउन आवश्यक सचेतना अपनाउने वाक्य समेत अटाएको छैन ।