विराटनगर । धिमाल सामुदायहरूको ऐतिहासिक महत्व बोकेको ग्रामथान कानेपोखरी गाउँपालिकाले भत्काउन लागेको भन्दै धिमाल जातीय विकास केन्द्रले विरोध जनाएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–७ मा अवस्थित धिमाल सामुदायको पूजा गर्ने ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै धिमाल जातीय विकास केन्द्रले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।
गाउँपालिका र ७ नं. वडा कार्यालयले धिमाल सामुदायको ग्रामथान भत्काएर व्यवसायिक प्रयोजनको लागि संरचना बनाउन लागेको भन्दै धिमाल जातीय विकास केन्द्रको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
‘धिमाल जातिको जीवन पद्धति वन जंगल, खोला नालालगायतको प्रकृतिसँग जोडिएको हुन्छ । समुदायको इतिहास, संस्कृति संरक्षण गर्न राज्यको दायित्व हो । तर, कानेपोखरी गाउँपालिकाले धिमाल सामुदायहरूको पूजा गर्ने ग्रामथान भत्काएर व्यवसायिक संरचना बनाउन खोजिएको प्रति ध्यानाकर्षण भएको छ । धिमाल सामुदायसँग बिना छलफल, बिना अुनुमति ऐतिहासिकस्थलको अतिक्रमण गर्नु अन्र्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरीत कार्य पनि हो,’ धिमाल जातीय विकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकाश धिमालले हस्ताक्षर गरिएको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
धिमालहरूको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकता जोडिएको स्थललाई हटाउनु स्थानीय सरकारको गैरजिम्मेवार भएको अध्यक्ष धिमालले बताए । गाउँपालिकाको गलत निर्णय तत्काल सच्याउन पनि धिमाल जातीय विकास केन्द्रले माग गरेको छ ।
आदिवासी समुदायको देव, स्थललाई समाप्त पार्न खोज्ने, धार्मिक तथा संस्कृतिका भक्षकहरू विरुद्ध एक हुन सम्पूर्ण संस्कृतिकप्रेमि नागरिक समाज, आदिवासी अभियान्ताहरू एक भइ स्थानीय सरकारको गलत क्रियाकलापविरुद्ध लड्नुपर्ने बेला भएको विज्ञप्तिमा उल्लेख छ ।