प्रदेश १ मा कोरोनाबाट २४ घण्टामा २३ को मृत्यु, मोरङमा ८, सुनसरीमा ७, झापामा ५

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मर्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको छ । प्रदेशमा २४ घण्टामा कोरोना संक्रमणबाट यति धेरै मानिस मृत्यु भएको नयाँ रेकर्ड हो ।

कोरोनाका कारण बुधबार सार्वजनिक तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको थियो । आज सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा बढी कोरोना संक्रमणका कारण मोरङमा ८, सुनसरीमा ७, झापामा ५ र अन्य जिल्लाका ३ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा हिंजोमात्रै मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको थियो ।

आजसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मर्नेको संख्या २१२ महिला र ५१६ पुरुष गरी ७२८ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । आज २१९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहिबार, ०६ जेठ, २०७८, साँझको ०७:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर