बेलबारी । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण नगरपालिकाले गरीदन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ ।
मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु कृषि प्रति हौसिएका हुन् ।
नगरपालिकाले निषेधाज्ञाको समयमा कृषकहरुलाई धानको बिउ बितरण गरेको छ । २० हजार किलो धानको बिउ अनुदानमा वितरण गरेको हो । नगरपालिकाले उक्त बिउ ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको जनाएको छ । वितरण गरिएको बिउले करिब ५ सय बिगाहा क्षेत्रफलमा खेति गर्न सकिने कृषि शाखाका प्राविधिकहरु बताउँछन् ।
राधा १२, कान्छी मन्सुली, बहुगुणी, स्वर्णसव १, रन्जितलगायतका प्रजातिका करिब ३ हजार किलो धानको मूल विउ बितरण गरिएको हो । मुल बिउ उत्पादनपछि पुनः बिउको रुपमा प्रयोग गर्न मिल्ने कृषि विकास शाखाका प्रमुख बिनोद दाहालले बताए ।
उत्पादन भएका बस्तुहरुको बजारीकरणले हौसला मिलेको बेलबारीका पुराना किसान कबिन्द्र धिमालले बताए । एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत वितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसरीबाट बिउ ल्याएर वितरण गरेको हो ।
यसअघि नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजारभाउभन्दा बढी मूल्यमा किनबेच गराइदिएको थियो । बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरहँदा किसानले भने प्रतिमन १५०० रुपैयाँ पाएका छन् । ६ हजार किलो गहुँ नगरपालिकाकै गाडीमा बजारसम्म नगरपालिकाले पुयाइदिएको हो । कृषि जन्य तथा उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण नगरपालिकाले आफैं गरिदिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण अन्तराष्ट्रिय बजारमा गर्न थालिएको बताए ।