विराटनगर । औषधी खरिदमा बिरामी ठगी गरेको आरोपमा विराटनगरको एक जना फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विराट नर्सिङ्ग होम अगाडिको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोले बिरामीसँग औषधीमा बढी मुल्य लिएर बिक्री गरेको आरोपमा पक्राउ गरेको हो ।
महामारीको फाइदा उठाउँदै कमाउ धन्दामा लागेका महतोले औषधी खरिदमा बिरामी ठगी गरेको प्रहरीले जनाएको छ । महतोले विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीलाई महंगो मूल्यमा औषधी विक्री गरेको आरोप छ । यसैगरी प्रहरीले विराट नर्सिङ्ग होम अगाडि रहेको अर्को गोलबजार फार्मेसीका संचालक जितेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएको थियो ।
औषधिको कालोबजारी गरेको गुनासो आएपछि अनुसन्धानका लागि फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘थप अनुसन्धानपछि विरामीलाई औषधीमा कति ठगी गरेको रहेछन् । त्यो अनुसन्धानपछि खुल्नेछ ।’
प्रहरी स्रोतको अनुसार विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीले पश्चीमबासी फार्मेसीबाट एक सय रुपैयाँको औषधी खरिद गरेर लग्यो भने बिलमा १ सय ५० रुपैयाँको बनाउने गरेको प्रमाण भेटिएको छ । ‘यसरी धेरै महँगो औषधीको पनि मूल्य बढाएर ठगी गरिएको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘बिरामीले खरिद गरेको औषधीको लिस्ट लामो रहेकोले कति रुपैयाँ ठगी गरेको रहेछ, त्यो खुल्न केही समय लाग्नेछ ।’
प्रहरीले विराट नर्सिङ्ग होम अगाडिको गोलबजार फार्मेसीका संचालक महतोले बिक्री गरेको बिल खरिद अनुसार नै रहेको प्रमाण प्रहरीलाई देखाएको छ ।