विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा एक जना महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रङ्गेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको शव फेला परेको हो ।
बेचन यादवकी श्रीमती अनिताको रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो । पानी नभएको सुख्खा नहरमा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएलगतै डिएसपी मञ्जिल मुकारुङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
एसपी खड्काले भने, ‘अहिले मोरङ प्रहरी र इप्रका रंगेलीका प्रहरी टोली परिचालन भएर अनुस्न्धान भइरहेको छ । घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ ।’
अनुसन्धान सुरुसँगै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतककी श्रीमान् बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । एसपी खड्काले भने, ‘परिवारको चार सदस्य माथि हामीले अनुसन्धान थालेका छौं ।’ कसले र के कारणले हत्या गर्यो भन्ने कुरा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।

