विराटनगर । कोरोना विरुद्धको खोप दुरुपयोग गरेको आरोप आफुलाई जनसेवामा लाग्नबाट दुरुत्साहित गर्न सिर्जना गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर प्रमुख पराजुलीले आफुलाई बदनाम गराउन दुष्प्रचार गरिएको बताएका हुन् ।

विराटनगरका उच्च घरानाका व्यक्तिहरुलाई कोरोनाको खोप उपलब्ध गराएर महानगरप्रमुखले नगरबासी र सेवा पाउनु पर्ने जेष्ठ नागरिकको हित विपरित काम गरेको भन्दै केही दिन यता सार्वजनिक आरोचना र विरोध भएको थियो । उक्त विरोध र सार्वजनिक टिप्पणीलाई प्रमुख पराजुलीले आफुविरुद्धको नीच सोच भएको र उनीहरुप्रति दया लागेको प्रतिकृया दिएका छन् ।

अक्सिजन नपाएका बिरामीहरुलाई हरतरहले अक्सिजनको व्यवस्थापन गर्ने, रातदिन नभनी बिरामीका लागि अस्पताल र उपचारको प्रवन्धमा खटिने, चिकित्सकसहितको टोलीसँगसँगै आफुपनि सक्रिय हुँदा पनि नकारात्मक टिप्पणी हुने गरेको भन्दै उनले यस प्रकारको टिप्पणी र आलोचनाबाट बिचलित नहुने बरु अझ बढी सेवा भावका साथ काम गर्ने उनले बताएका छन् ।

महानगर प्रमुख पराजुलीले कोरोनाको दोश्रो लहर सुरुभएदेखि नै संक्रमितहरुका लागि अस्पतालको प्रवन्ध गर्ने, संक्रमितहरुलाई घरघरमै अक्सिजन सिलिण्डर पु¥याइदिने, चिकित्सकहरुको टोली बनाएर परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो समयमा भने उनले महानगरपालिकासँग मौज्दात रहेको पहिलो चरणको कोरोना खोप विराटनगरका उच्च घरानाका व्यापारीहरुलाई घरघरमै पुगेर सेवा लगाइदिने गरेको सूचना सार्वजनिक भएको थियो । त्यसपछि भने उनको चौतर्फी विरोध भइरहेको छ । प्रमुख पराजुलीले भने त्यस्तो आरोपलाई अस्वीकार गर्दै आफुलाई बदना गर्ने, जनताको सेवामा लाग्नबाट निरुत्साहित गर्ने प्रयत्न भएको दावी गरेका छन् ।

प्रमुख पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा प्रकाशन गरेको प्रतिकृया यस्तो छ :

मलाई अचम्म लागेको छ र यस्तो नकारात्मक सोच प्रति दुस्ख पनि लागेको छ । हुदा हुदै बिरोधको पनि पराकाष्ठा, मान्छे मर्न आटेको बेला अक्सिजन पुर्याई दियो भने सस्तो प्रचार गर्यो भन्छन् । बिरामीले अस्पताल जान एम्बुलेन्स पाएनन् भनेर आफु चढ्ने गाडी दियो प्रचार गर्यो भन्छन् । घरमा मरेको मानिसको सव ब्यस्थापन गर्न धेरै समय कुर्नु पर्यो गार्हो भयो भनेर केही म लगायतका साथीहरू मिलेर आफ्नो खर्चमा सव बाहनको ब्यस्थापन गर्यौ, प्रचार गर्यो भन्छन् ।

कसैलाई राति अस्पतालको बेड नपाएर अत्यन्तै समस्या भएर अक्सिजन गार्हो परेको मानिसलाई पठायो र समबन्धित ब्यक्तिले खुसी भएर फोटो हाल्दा कस्तो नाटक गरेको भन्छन्। रात(रात भरी नसुती नसुती बिरामिहरुको अस्पतालको ब्यस्थापन गर्यो प्रचार गर्यो भन्छन्।बिरामिहरुले अक्सिजन नपाएर गार्हो भयो र संक्रमितहरु घरमा बस्न बाध्य भए भनेर अक्सिजन सहित, चिकित्सकको टोली र बिराटनगरका अस्पतालहरुको समन्यमा ब्यस्थापन गर्ने गरि महानगरको न्युनतम खर्च र बाकि साझेदार संस्थाको हुने गरि ५१ बेडको आईसोलेसन बनायो १००० बेडको बनाउनु पर्थ्यो भन्छन् र निर्णय भएको कुरा थाहा छैन भन्छन् ।

हुदाहुदै केहि नलागेर बदनाम गराउन समाजमा नबिकेका मानिसलाई आफ्नो सिमित स्वार्थको लागि प्रयोग गरेर कोभिडको खोप मारवाडी ,घराना परिवारलाइ लगाएको भनेर दुस्प्रचार गर्दा त मलाई यीनिहरूको निच सोच प्रति दया लागेको छ।आफु घर बाट कहिल्यै डरले,आफ्नो मान्छे बिरामी हुदा, न त मृत्यु हुदा बाहिर निस्कन्छन् तर अरुले आफु आफ्नो परिवार सबै माया मारेर ज्यान जोखिममा राखेर अन्तर हृदयदेखि सेवाभावले काम गरेको मानिसलाई हतोत्साही गरेको देख्दा दुःख लागेको छ।

तर म यस्ता नकरात्मक टिप्पणी बाट बिचलित नभई निरन्तर सेवाभावका साथ, थप उर्जाका साथ, आलोचना र नकरात्मक टिप्पणीलाई आशिर्वादको रुपमा लिई,आफ्नो धर्म दायित्व र कर्तव्य लाई शिरोपर गरि इमानदार रुपमा काम गरि रहन्छु।
जय नेपाल। 

सबैको जय होस कल्याण होस !