कोशीमा ६१ शय्याको कोभिड अस्पताल तयारः बुधबारदेखि सञ्चालन

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरभित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६१ शय्याको कोभिड अस्पताल सञ्चालन बुधबारबाट हुने भएको छ ।
मंगलबारसम्म कोभिड अस्पताल तयार भइ बुधबारदेखि संक्रमित राखेर उपचार थाल्ने कोशी अस्पतालका सुपरिडेन्टडेन्ड (मेसु) डा.चुमनलाल दासले जानकारी दिए ।

कडा लक्षण भएका कोरोना संक्रमित बढेर विरामीले उपचार पाउन छोडेपछि कोशी अस्पतालले संक्रमितको उपचार गर्न छुट्टै संरचना तयार गरेको हो । ५ शय्याको भेन्टिलेटरसहितको आइसियू, २४ बेडको एचडीयू, ३२ अक्सिजनसहितको बेड सञ्चालनमा आउने मेसु दासले जानकारी दिए । अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाई कोभिड अस्पतालको रूपमा संचालन गर्ने तयारी गरिएको हो ।

‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ मेसु दासले भने, ‘मंगलबारसम्ममा सम्पूर्ण तयारी पुरा गरि बुधबारदेखि संक्रमित राखेर उपचार गर्नेछौं ।’ उनका अनुसार मेडिकल कक्षभित्रको चार वटा कोठामा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार हुनेछ । ‘अहिले सीसीटिभी, वायरिङ, शय्यामा पु¥याउन अक्सिजनको पाइप जडानको काम सकिएको छ,’ उनले भने, ‘वेडको पनि व्यवस्थापनको काम भइरहेको र शौचालय मर्मतको काम अन्तिम चरणमा छ ।’

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले नै संक्रमितको उपचार गर्नेछन् । ‘जनशक्ति अपुग भए थप गरिनेछ,’ मेसु दासले भने । कडा लक्षणसहितको गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरुमा बेड अभाब भएको बेला संघीय सरकार मातहत रहेको कोशीमा पनि संक्रमितको उपचार गर्ने तयारी भएको हो ।

विराटनगरमा प्रदेश सरकार मातहत कोशी कोभिड उपचार केन्द्र सञ्चालनमा छ भने निजी क्षेत्रका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजले संक्रमितको उपचार गरिरहेका छन् ।

अक्सिजन सिलिण्डर अभाब
कोशी अस्पताल परिसरभित्र कोभिड अस्पताल संचालनमा आएपछि ३ सय भन्दा बढी अक्सिजनको सिलिण्डर आवश्यक पर्नेछ । तर, अहिले यहाँ ७० देखि ८० वटा मात्र अक्सिजन सिलिण्डर रहेको मेसु दासले जानकारी दिए । ‘कोभिड अस्पताल सञ्चालनमा आएपछि अक्सिजन सिलिण्डर थप गर्नुपर्नेछ । अहिले यहाँ भएको ८० सिलिण्डरले पुग्दैन,’ अस्पतालका मेसु डा.दासले भने, ‘कम्तिमा पनि ३ सय थान अक्सिजन सिलिण्डर आवश्यक पर्दछ ।’

कोभिड अस्पताल सञ्चालनमा आउँदासम्ममा आवश्यकता अनुसार सिलिण्डर प्राप्त हुने अस्पतालले जनाएको छ । केही सिलिण्डर रेडक्रस र उद्योगहरूदेखि संकलन गरेर ल्याउने स्थानीय प्रशासनले अस्पताललाई आश्वासन दिएको छ ।

सोमबार, ०३ जेठ, २०७८, दिउँसोको ०३:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर